काठमाण्डौ । पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस काउन्सिल (पीसीआई एसएससी)को सल्लाहकार समितिमा नेप्स चयन भएको छ। 

पीसीआई एसएससी कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नका लागि स्थापना भएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो। भिसा, मास्टरकार्डजस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डीएसएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन्। 

कार्डमार्फत हुने कारोबारको सुरक्षा र त्यससम्बन्धी विकास भइरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालालाई समेटी पर्याप्त डाटा सुरक्षासम्बन्धी मापदण्डहरुको विकास गरी लागू गर्ने उद्देश्य लिएर बनेको संस्थाको सल्लाहकार समितिमा नेप्स चयन भएको हो। 

सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षासम्बन्धी मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरी मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व पनि गर्छन्। सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालको २० सिटका लागि ६४ मनोनयन दर्ता भएको र सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो। 

फलस्वरुप २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको हो। मनोनित भएसँगै नेप्सले अमेजन, एप्पल, बैंक अफ मेरिका, बारक्लेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल, एचडीईसी बैंक, आईबीए, जेपी मोर्गान, एनपीसीआई, यस बैंक, पेपल, माइक्रोसफ्टजस्ता अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान–प्रदान गर्नेछ।

‘यो हाम्रा लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाइतर्फ बढिरहेको पनि संकेत गर्दछ। यसका साथै पीसीआई एसएससीको लक्ष्य प्राप्तिका लागि ज्ञान, सीप र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ’, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले भने, ‘यसका साथै हामीले यो अवसरलाई कार्डमार्फत हुने कारोबारको सुरक्षालाई अझै चुस्त र समयसापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नवीनता र सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीका रुपमा पनि लिएका छौँ।’

यसअघि नै नेप्स नेपालबाट पीसीआई एसएससीको एसोसिएट पार्टिसिपेन्ट्स अर्गनाइजेसन सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो। अहिले सल्लाहकार समितिमै चयन भएर सिंगो नेपाललाई नै कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी मापदण्डहरु निर्धारण गर्ने अन्तर्राष्ट्रिय समितिमा सम्पूर्ण नेपाललाई नै प्रतिनिधित्त्वो गर्ने अवसर नेप्सले सिंगो राष्ट्रलाई नै प्रदान गरेको छ। 

यसका साथै कार्डमार्फत हुने कारोबारको सुरक्षा नै नेप्सको पहिलो प्राथमिकता पनि रहेको छ। नेप्स आईएसओ २७००१ः२०१३ र पीसीआई डीएसएस भर्जन ३.२.१. प्रमाणित संस्था पनि भएको हुँदा पीसीआई एसएससी सल्लाहकार समितिको सदस्यताले सरोकारवालाहरुको नेप्सप्रतिको विश्वासलाई अझ प्रगाढ बनाउनेछ। साथै, यसले नेप्सको कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षासम्बन्धी व्यवस्थालाई समयनुसार परिमार्जन गरी सुरक्षित कारोबार सञ्चलानको यकिन गर्न टेवा पुग्नेछ र नेपालमा रहेका अन्य संस्थाहरुलाई पनि उचित मार्गदर्शन प्रदान गर्न कोशेढुंगा सावित हुनेछ।