काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत दुई कम्पनीको धितोपत्र कारोबार दोस्रो बजारमा रोक्का गरेको छ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार गर्ने निर्णय नेप्सेले आज आइतबार लिएको हो। आफ्नो वार्षिक प्रतिवेदन र वित्तीय विवरण समयमा पेस नगरेका कारण धितोपत्र कारोबार रोक्का गरिएको नेप्सेले स्पष्ट पारेको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (क) मा भएको व्यवस्थाबमोजिम नेप्सेमा सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र नेप्सेमा पेस गर्नुपर्छ। यस सम्बन्धमा राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीमा नेप्सेले पत्र पठाई विवरण पठाउन माग गर्दा पनि पेस नगरेका कारण धितोपत्र कारोबार रोक्का गर्नुपरेको नेप्से स्पष्ट पारेको छ।