– अर्जुन तिमिल्सिना

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ। आज दिनभरि उतारचढाव देखिएको बजार अन्त्यमा २० अंकभन्दा बढीले बढेर बन्द भएको छ। आइतबार पनि बजार ६९ अंकले बढेको थियो। 

प्राविधिक रुपमा पनि बजार बुलिस नै देखिन्छ। सबै अल्पकालीन औजारहरुले बजारमा सकारात्मक र बुलिस सिग्लनहरु भ्यालिड नै रहेको देखिन्छ। 

आज हामीले केही अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत बजारलाई विश्लेषण गर्ने कोसिस गरेका छौँ। 

मैनबत्ती विश्लेषणका आधारमा 

आज नेप्सेका मैनबत्ती चार्टमा ड्रागन फ्लाई  डोजी बनेको छ (हेर्नुहोस् कालो ऐरो)। यसलाई चार्टमा हेर्दा (टी) आकारको बनेको हुन्छ। यसले के बुझाउँछ भने कुनै पनि कम्पनी तथा सूचकमा दिनभर बिक्रीकर्ता हावी भएका र अन्त्यमा बजारमा  खरिदकर्ता हावी भएका बुझिन्छ। 

यदि बढ्दो बजारमा यस्तो आकृति बन्छ भने भविष्यमा बजार अझै थप बुलिस हुन सक्ने बुझिन्छ। यसविपरीत ग्रेभ स्टोन डोजी (उल्टो टी) बन्छ भने बजारमा करेक्सन हुन सक्ने देखिन्छ। तर, डोजी स्टारमात्रै (प्लस चिह्न) बन्छ भने बजार  अनिर्णयको अवस्था भएको बुझिन्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट वेभमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ र सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याएका छौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा हालको न्यून विन्दु २२६० बाट इलिअट वेभको सिद्धान्तअनुसार व्याख्या र विश्लेषण गर्दा वेभ (१) यही न्यून विन्दुबाट हालको बढोत्तरी लगभग ३२०० सम्म जान सक्छ। त्यसपछि वेभ (२) मा पुनः ६१.८ प्रतिशतको करेक्सनले लगभग फेरि २७५० सम्म आउन सक्ने देखिन्छ। त्यसपछि पुनः वेभ (३) जसलाई अधिक बुलिसको वेभ पनि भनिन्छ यो वेभमा बजार लगभग ३८०० सम्म बजार जान सक्छ। यसबाट पनि वेभ (४) अन्तर्गत करेक्सन भएर बजार पुनः ३५०० सम्म र वेभ (५) मा पुनः बढोत्तरीका साथ आगामी डेढ वर्षभित्र बजार लगभग ४५०० सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

बोलिंगर ब्यान्ड, भोलुम एमएसीडी र  आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डअन्तर्गत बजारको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र मध्य रेखा पनि माथितिर बाङ्गिएको छ (हेर्नुहोस् कालो एरो)। यसले बजार अझै अधिक बुलिस हुन सक्ने बुझिन्छ। 

भोलुमका आधारमा पनि यो साता पनि राम्रो भुलुम आएको देखिन्छ। भोलुमको आकार बढ्दो रहेकोले बजार मजबुत नै देखिन्छ। एमएसीडीका आधारमा गत २२ डिसेम्बरमा बुलिस क्रसओभर बनेको बजार अहिले पनि भ्यालिड नै रहेको देखिन्छ। हिस्टोग्राम पोजेटिभ र लामा–लामा देखिन्छन्। 

आरएसआईका आधारमा हाल यो विन्दु ७३ को ओभरबट जोनमा रहेको छ। बुलिस बजारमा यस्तो विन्दु ९० वा सोभन्दा पनि माथिसम्म पुग्न सक्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २९२१
प्रतिरोध २– २९८५
प्रतिरोध ३– ३०९६

पिभट प्वइन्ट :  २८१०

घटेमा सपोर्ट 

सपोर्ट १– २७४६
सपोर्ट २– २६३५
सपोर्ट ३– २५११

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एउटा औजारमा आधारित अनुमानित विश्लेषण  हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।