काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा तानेर सेवा अवरुद्ध गर्ने प्रयास भएको पाइएको छ। 

नेप्सेले आज एक सूचना जारी गर्दै वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा ठूलो परिणाम तान्ने प्रयास निरन्तर भइरहेको जानकारी गराएको हो। यसले नेप्सेको वेबसाइट हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा भइरहेको नेप्सेले प्रस्ट पारेको छ। 

यसरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न विभिन्न प्रयास भइरहेको पनि नेप्सेले जनाएको छ। आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने पनि चेतावनी दिइएको छ। 

हाल नेप्सेले आधिकारिक रुपमा एपीआईमार्फत धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सीडीएससीलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको पनि स्पष्ट पारेको छ।