काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटले जलविद्युत आयोजना निर्माणलाई तीव्रता दिने र त्यस्ता आयोजनामा सर्वसाधारणहरुको सहभागिता समेत बढाएर ४९ प्रतिशतको सेयर स्वामित्व कायम गराउने नीति लिएसँगै त्यसको प्रभाव पूँजीबजारमा देखिने क्रम जारी  छ । आइतबार र सोमबार दोहोरो अंकले उक्लिएको जलविद्युत समूहको सूचक मंगलबार त्यहीकारण तेहेरो अंकले बढेको छ । 

उत्पादनमूलक समूहको सूचक पनि दोहोरो अंकले बढे पनि बजेटअघि बजारलाई नेतृत्व गरिरहेका बिमा र बैकिङ समूहमा मंगलबार पनि आइतबार र सोमबार झै रातो पोतियो । 

तीन समूहको सूचकमा रातो पोतिए पनि समग्रमा नेप्से इण्डेक्स ५.१६ अंकले बढी १५३२.१२ अंकमा रोकिएको छ । बजारको समग्र इण्डेक्सलाई माथि उचाल्न जलविद्युत समूहको सूचकले सहयोग गर्यो । यो समूहको सूचक मंगलबार एकैदिन २२७.१८ अंकले उक्लियो । पूँजीबजारमा उत्पादनमूलक क्षेत्रलाई समेत प्रवेश बढाउने उद्देश्यले कर छुट लगायतको नीति सार्वजनिक गरेका कारण त्यसको प्रभावले मंगलबार उत्पादनमूलक समूहको सूचक ३५.२९ अंकले उकालो लाग्यो । होटल समूह ११.१ अंकले उक्लियो भने अन्य समूह र विकास बैंक समूहको सूचक क्रमशः २.३५ र १.९८ अंकले उकालो लागे । 

मंगलबार बिमा समूहको सूचक २२.०७ अंकले ओर्लियो । बित्त समूहको सूचक ११.४३ अंकले ओरालो लाग्दा बैकिङ(वाणिज्य बैंक) समूहको सूचकमा २.२१ अंकको गिरावट देखियो । मंगलबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ०.७३ र ०.४२ अंकले उक्लिए । 

कुल १ सय ३६ कम्पनीको २४ लाख ८० हजार २ सय २६ कित्ता शेयर १ अर्ब ३२ करोड २६ लाख ३० हजार रुपैयाँमा किनबेच भयो । करिब एकसातादेखि पूँजीबजारमा हरेक दिन १ अर्ब माथिको सेयर किनबेच भइरहेको छ । 

मंगलबार सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको १४ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भयो । नेशनल हाइड्रोपावर कम्पनीले ८ करोड ९५ लाख रुपैयाँको कारोबार गर्यो । यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनलले ८ करोड ७५ लाख, सानिमा बैंकले ७ करोड ७२ लाख, बुटवल पावर कम्पनी लिमीटेडले ५ करोड ७७ लाख, नेपाल लाइफले ३ करोड ८८ लाख बराबरको कारोबार गरे । 

मंगलबार उत्कृष्ट १० कारोबार गर्ने कम्पनीमा ५ स्थान बैंकहरुले नै कब्जा गरे भने तीन हाइड्रोपावर कम्पनी र २ इन्स्योरेन्स कम्पनीको होल्ड बन्यो ।