काठमाण्डौ । बुधबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक २.८६ अंकका साथ करेक्सन भए पनि कारोबार रकम भने बढेको छ । 

झिनो अंकले घटेर नेप्से परिसूचक १४८१.१८ अंकमा आइपुगे पनि कारोबार रकम भने १ अर्ब १० करोड ४८ लाख पुगेको छ । 

बुधबार बजारमा तीव्र सुधारका लागि आक्रामक रणनीतिमा रहेको नेपाल बैंक लिमीटेडको मात्रै १६ करोड १० लाख मूल्यका ३ लाख ३३ हजार ९ सय ९४ कित्ता शेयर खरीदबिक्री भएको छ । बैंकले बुधबार मात्र आगामी जेठ अन्तिम साता हुने ५६ औं साधारणसभाको एजेण्डा सार्वजनिक गर्दै एकसय बराबर २३.७४ कित्ता हकप्रद दिने घोषणा गरेको थियो । यही घोषणाका कारण शेयरबजारमा नेपाल बैंक लिमीटेडको ठूलो संख्यामा शेयरको किनबेच भएको हो । समस्याग्रस्त रुपमा रहेको बैंकको बित्तीय स्वास्थ्य सुधारका लागि नोक्सानीलाई शून्यमा पार्ने र संस्थालाई बलियो बनाउने रणनीतिका साथ व्यवस्थापन अगाडि बढेपछि  यसको प्रभाव पूँजीबजारमा पनि परेको देखिएको छ । 

नेपाल बैंक लिमीटेडपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ९२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ७ करोड ४६ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५ करोड ३२ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

केही बैंकहरुले राम्रो व्यापार गरे पनि बैकिंग समूहको सूचक भने तल झरेको छ । वाणिज्य बैंक ८.२४ ले ओरालो लाग्दा विकास बैंक समूह चाहि ५.६१ अंकले उक्लियो । बजार बिमा समूहको दबदबा बुधबार पनि देखियो । बिमा समूहको सूचक ९१.३९ अंकले उकालो लाग्यो । होटल र बित्त समूहको सूचक हरियो भए पनि अन्य समूह, उत्पादनमूलक, जलविद्युत समूहको सूचक भने रातो भए । अन्य समूह १४ अंकले ओरालो लाग्दा उत्पादन समूह १३.०३ अंकका साथ ओर्लियो । 

१ सय ३५ कम्पनीका १७ लाख ९६ हजार ९ सय २ कित्ता शेयर कारोबार भएको बजारमा केही लघुवित्त र बिमा कम्पनीले कुस्त कमाएका छन् । बुधबार सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः १.०२ र ०.१ अंकले घटेको छ ।