काठमाण्डौ । एक वाणिज्यसहित ४ संस्थाको झन्डै ४ करोड कित्ता बोनस तथा हकप्रद सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकसहित गरिमा विकास बैंक, नागरिक लगानी कोष र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका बोनस तथा हकप्रद सेयर सूचीकृत भएका हुन्। यी बैंक तथा संस्थाका कुल झन्डै ३ करोड ९३ लाख ४९ हजार १४६.२९४२ कित्ता बोनस तथा हकप्रद सूचीकृत भएको हो।

नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंक गत आर्थिक वर्षका लागि १३ प्रतिशत बोनस सेयर जारी गरेको थियो। 

यसैगरी गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले १३.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै नागरिक लगानी कोषले हालै जारी गरेको ८२.८४ प्रतिशतबराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद पनि आज नेप्सेमा सूचीकृत भएको छ। 

त्यस्तै साना किसान विकास लघुवित्तको हकप्रद र बोनस सेयर गरी कुल २५ लाख ५७३.५६४२ कित्ता सेयर पनि सूचीकृत भएको छ।