काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

बजारमा आज ३५.८९ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २६९९.५१ विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.२९ अंकले घटेर ४८६.१६ को विन्दुमा खुम्चिएको छ।

कारोबार रकम भने झन्डै ९ अर्ब रुपैयाँबराबरको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार धेरै दिनदेखि बढेको बजारबाट नाफा बुक गर्दा आज करेक्सन आएको बताउँछन्। ‘आज बजार घट्नुमा कोभिड प्रभाव पनि हुन सक्छ’, उनले भने, ‘तर हामीले यसलाई करेक्सनका रुपमा लिनुपर्छ, आज खरिदको अवसर पनि आयो।’

सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासको रिपोर्टहरु आउन थालेको उल्लेख गर्दै यसपालि बैंकहरुको रिपोर्ट राम्रै आउने सम्भावना रहेको रौनियार भनाइ छ। ‘बैंकहरुको रिपोर्ट राम्रो आएमा बजार माथि नै जान्छ’, उनले भने। 

मुलुक रेमिट्यान्स पनि बढेकोले बजारमा लगानी अझै भित्रिने सम्भावना रहेको रौनियारले बताए। ‘बजारमा जति लगानी बढ्छ उति नै राम्रो हो’, उनले भने, ‘यसले यो वर्षभित्रै दैनिक १५–२० अर्ब रुपैयाँसम्म कारोबार हुने संकेत गरेको छ।’

त्यसैले आज करेक्सनले बजारको जग बलियो बनेको प्रस्ट हुने रौनियारको तर्क छ।

बजार जानकार प्रकाश न्यौपाने अझै बजारमा केही दिन करेक्सन आउन सक्ने तर्क गर्छन्। ‘पछिल्ला केही दिन बैंकहरुले बजार बढाएको थियो तर आज फेरि बैंकहरुमा आकर्षण घटेको देखियो’, उनले भने, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने खासै कुरा बाहिर आएका छैनन्, राजनीतिक अन्यौलता पनि कायम छ, यसले गर्दा बजार अझै केही दिन घट्ने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १८३.१९ अंकले ओरालो लागेको छ। व्यापार समूह १२५.३९ अंकले घटेको आज बैंकिङ समूहमा ३३.२९ अंक, होटेल तथा पर्यटन समूहमा ९२.७९ अंक, विकास बैंक समूहमा ४८.३ अंक, जलविद्युत समूहमा ३२.३८ अंक, वित्त समूहमा १६.०६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६७.८६ अंक, अन्य समूहमा २१.०१ अंक, लघुवित्त समूहमा ५०.३२ अंक, जीवन बीमा समूहमा १११.६२ अंक र लगानी समूहमा ०.६ अंकको गिरावट आएको छ।

यो दिन म्युचुअल फन्ड समूहमा ०.०६ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन एभरेस्ट बैंकको सर्वाधिक ८७ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया लघुवित्तको ५५ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २७ करोड ९८ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड ७७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २६ करोड ३८ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २४ करोड ७२ लाख रुपैयाँ, नबिल बैंकको २३ करोड ३४ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २१ करोड ६२ लाख रुपैयाँ, एनसीसी बैंकको १९ करोड ७९ लाख रुपैयाँ र माथिल्लो तामाकोशीको १९ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन दिव्यश्वरी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

आज गुडविल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।