काठमाण्डौ । धितोपत्र कारोबार साताको चौथो दिन बुधबार बजारमा झिनो करेक्सन आएको छ। 

बजारमा आज ५.०९ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २६४९.६० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६२ अंकले घटेर ४७३.८१ को विन्दुमा ओर्लेको छ। आज कारोबार रकम सवा ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरेले आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। अहिलेको बजार उतारचढावलाई प्राकृति भएको भन्दै घिमिरले बजार सकारात्मक नै रहेको आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। ‘अहिले तरलता र ब्याजदरले पनि साथ दिएको छ’, उनले भने, ‘सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमास रिपोर्ट पनि राम्रै आएका छन्। अहिले घरजग्गाको कारोबार पनि बन्द रहेकोले सेयर बजारमै लगानी भित्रिरहेको छ। त्यसैले बजार सकारात्मक नै छ।’

अहिलेको परिस्थितिमा बजारलाई कारोबार रकमले पनि साथ दिइरहेको घिमिरेको तर्क छ। ‘निधेषाज्ञाबीच पनि ६ अर्ब बढीको कारोबार (टर्नओभर) हुनु राम्रै कुरा हो’, उनले भने, ‘यसबाट प्रस्ट हुन्छ कि अनलाइनबाट लगानीकर्ताहरुले सक्रिय रुपमा कारोबार गरिरहेका छन्।’ 

बजारमा १–२ दिन करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको घिमिरे बताउँछन्। ‘बजारमा कोरोना त्रासदीबीच पनि लगानीकर्ताहरुले धमाधम सेयर उठाइरहेका छन्, यसले बजार चलायमान रहेको छ भन्ने बुझ्नुपर्छ’, उनले भने।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधान पोखरेल अहिले कोरोनाबाट उत्पन्न परिस्थितका कारण सेयर बेचेर बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्था रहेको हुन सक्ने बताउँछिन्। ‘यो अवस्थामा पनि कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा बढी भएको छ, यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ’, उनले भनिन्, ‘अहिलेको परिस्थितिमा अन्य क्षेत्रमा लगानीको वातावरण नभएकोले सेयर बजारमा मात्रै लगानी गर्ने अवसर छ।’

अहिले परिस्थिति र बजार ट्रेन्ड हेरेर तथा कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरेर लगानीकर्ता उत्तम हुने पोखरेलको सुझाव छ। ‘यतिबेला बैंकहरुमा गरिएको लगानी अझै सुरक्षित हुन सक्छ’, उनले भनिन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ४५.२७ अंकले उकालो लागेको छ। वित्त समूह १०.०८ अंकले बढेको आज व्यापार समूहमा ९.४१ अंक र निर्जीवन बीमा समूहमा ९.२७ अंकको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ६७.०७ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ५५.२४ अंकले घटेको यो दिन बैंकिङ समूहमा ४.९९ अंक, होटेल तथा पर्यटन समूहमा ३७.७८ अंक, विकास बैंक समूहमा ३.२५ अंक, अन्य समूहमा २१.९१ अंक, लघुवित्त समूहमा ३.८९ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा ०.५१ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएका छन्।

आज प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक २३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया लघुवित्तको २२ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एनसीसी बैंकको १९ करोड ४७ लाख रुपैयाँ, अपी पावरको १८ करोड २७ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको १५ करोड २३ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ७२ लाख रुपैयाँ, निफ्राको १२ करोड ४६ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ११ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड १६ लाख रुपैयाँ र छिमेक लघुवित्तको १० करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ११ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, महिला लघुवित्त, सिंगटी हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, समता घरेलु लघु्वित्त, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, वरुण हाइड्रोपावर र राधी विद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, ङादी ग्रुप पावर र लिबर्टी इनर्जीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको सेयरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेको छ।