काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको पहिलो कारोबार दिन आइतबार बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार १८.५६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१८.५६ अंकमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४७०.७३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि सवा ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बजार घट्नुका २ वटा कारण रहेको बताउँछन्। ‘पहिलो कोरोना र दोस्रो राजनीतिक कारण नै हो’, उनले भने।

कोरोनाको समस्या बढ्दै गएपछि मानिसमा त्रासको वातावरण सिर्जना भएको उल्लेख गर्दै रानाभाटले भने, ‘केहीले सेयर बेचेर आइपर्ने समस्या टार्न पैसा जोहो गरेका छन्, केही अहिलेको अवस्थामा लगानी गर्दा कति सुरक्षित हुन्छ भनेर पर्ख र हेरेको अवस्थामा देखिन्छन्।’

अहिले राजनीतिक परिस्थितिबाट पनि लगानीकर्ताहरु अलमलमा परेको स्थिति रहेको रानाभाट बताउँछन्। ‘तर राजनीतिक प्रभाव अल्पकालीन हुन्छ, दीर्घकालमा बजारले आफ्नो बाटो लिनेछ’, उनले भने, ‘अहिले खरिदको भरपूर अवसर छ।’

सक्रिय लगानीकर्ता रोहन कार्की आजको बजार घटाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘आज कारोबारसँगै सूचक घटेको, आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘अहिले बजारमा कोरोना र राजनीतिकको प्रभाव परेकोजस्तो देखिन्छ। तर बजारमा दीर्घकालन असर पर्दैन।’

विश्व बजारलाई हेर्दा पनि आगामी दिनमा नेपालको सेयर बजार माथि नै देखिने कार्की बताउँछन्। ‘यतिबेला राम्रा र बलिया कम्पनीको सेयर सस्तो नै छ’, उनले भने, ‘खरिदको अवसर छ, अध्ययन गरेर सेयरमा लगानी गर्दा फाइदै हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १४७.६४ अंकले ओरालो लागेको छ। लघुवित्त समूह ९७.०६ अंकले घटेको आज बैंकिङ समूहमा ०.२८ अंक, व्यापार समूहमा ६१.६१ अंक, होटेल तथा पर्यटन समूहमा ४१.७८ अंक, विकास बैंक समूहमा १.३६ अंक, जलविद्युत समूहमा ३४.०५ अंक, वित्त समूहमा १२.२१ अंक, निर्जीवन बीमा समूहमा ३१.२९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९२.३७ अंक, अन्य समूहमा २७.९२ अंक, लघुवित्त समूहमा ९७.०६ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा ०.९२ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँमा किनबेच भएका छन्। 

आज एनसीसी बैंकको सर्वाधिक २८ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमार बैंकको २८ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २३ करोड ९४ लाख रुपैयाँ, महिला लघुवित्तको २३ करोड ६७ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको २० करोड ३० लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १६ करोड ५ लाख रुपैयाँ, निफ्राको १५ करोड ७३ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड ८६ लाख रुपैयाँ र नबिल बैंकको ११ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। समता लघुवित्त र रुरु जलविद्युत परियोजनाको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। आज युनियन हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको गिरावट आएको छ।