काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

लगातार २ दिन बढेको बजार आज १५.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०७९.८२ को विन्दुमा झरेको छ। 

हिजो नेप्से हालसम्मकै उच्च विन्दु चुमेको थियो। यो दिन नेप्से ३०९४.९५ को विन्दुमा पुगेको थियो।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४ अंकले घटेर ५७०.९२ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि घटेर पौने ११ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट मनोवैज्ञानिक दबाबका कारण आज बजार घटेको बताउँछन्। ‘जलविद्युतमा लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन आएको हो’, उनले भने, ‘बजार फेरि माथि नै छ, केही दिन जलविद्युतले नै बजारलाई लिड गर्ने देखिन्छ।’

बजार बुलिस नै रहेकोले राम्रा कम्पनीहरु लगानी गर्ने अवसरलाई छोप्न बिष्टले सुझाव दिए। ‘मौद्रिक नीति बजारअनुकूल नै आउने देखिन्छ’, उनले भने, ‘बजारअनुकूल नआए प्रभावित पार्ने खालको पनि आउँदैन।’

सक्रिय लगानीकर्ता प्रकाशन न्यौपाने बजार सेक्टरवाइज चलिरहेको बताउँछन्। ‘अझै केही दिन बजारमा करेक्सन आउन सक्छ’, उनले भने, ‘त्यसपछि बजार पुनः बढ्ने सम्भावना छ।’

बजार बढ्ने थुप्रै आधारहरु रहेको न्यौपानको तर्क छ। कोरोना संक्रमणको दर बढ्दै जानु, जसका कारण लगानीका अन्य क्षेत्र अझै पनि राम्रोसँग नखुल्नु, लगानीका लागि सेयर बजारको विकल्प नहुन बजार बढ्ने आधार हुन सक्ने न्यौपाने बताउँछन्। ‘त्यस्तै बैंक ब्याज कमै हुनु र सरकार पनि पुँजी बजारप्रति सकारात्मक नै रहनुले बजार बढ्ने सम्भावना प्रबल नै देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.१७ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक समूह १.१० प्रतिशतले बढेको छ।

यो दिन वित्त समूह सर्वाधिक १.९४ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.१३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.४८ प्रतिशत, जलविद्युत समूहमा ०.८८ प्रतिशत, जीवन बीमा समूहमा ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४६ प्रतिशत, अन्य समूहमा ०.६१ प्रतिशत र व्यापार समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४.१७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन गुडविल फाइनान्सको सर्वाधिक ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २९ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको २५ करोड ४३ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २२ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोको १९ करोड १६ लाख रुपैयाँ, अपी पावरको १७ करोड ९८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँ र युनिभर्सल पावरको १६ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन रिडी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। आजबाट कारोबारमा आएको जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

आज गुडविल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतले बढीले घटेको छ।