काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकको करेक्सन आएको छ। 

बजार आज ०.६२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८७५.९८ को विन्दुमा समेटिएको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेर ५३५.२९ को विन्दुमा झरेको छ। कारोबार रकम ७ अर्ब रुपैयाँ बढीको भएको छ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले आजको बजारले आगामी दिन युटर्न लिन सक्ने संकेत दिएको बताए। ‘घटेको बजारमा झट्टै विश्वास हुँदैन, आजबाट प्यानिक सेल रोकिएको जस्तो देखिन्छ’, उनले भने, ‘आगामी दिनमा पर्ख र हेरको अवस्थामा बसेकाहरु पनि बजारमा प्रवेश गर्ने सम्भावना रहेकोले बजार युटर्न लिने सम्भावना प्रबल छ।’

आज झिनो गिरावटले नै बजार अब फर्किने आशा गर्न सकिने रानाभाट बताउँछन्। ‘सामान्यतया बजारमा यस्तै हुनु हो’, उनले भने, ‘लगानीकर्ताको मनोबल बढेजस्तो देखिन्छ, सबै हिसाबले आगामी साताबाट बजार सकारात्मक हुने देखिन्छ।’

आगामी साताबाट १ खर्बभन्दा बढी पैसा बजारमा  आउने सम्भावना रहेको रानाभाटले बताए। ‘आजै तरलता ५ अर्बले बढेको छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेले पनि आगामी साताको बजार सकारात्मक नै हुन सक्ने बताए। ‘तत्काल बजारले रेकर्ड ब्रेक नगरे पनि १००–१५० अंकसम्म बढ्न सक्ने सम्भावना छ’, उनले भने। 

आगामी दिनमा लगानीकर्ता सचेत हुनुपर्ने अवस्था रहेको पनि न्यौपानेको भनाइ छ। ‘देशको राजनीतिक र आर्थिक अवस्था हेरेर लगानी गर्दा उचित हुन्छ’, उनले भने। 

आगामी साता बजारलाई विकास बैंक, जलविद्युत र वित्त समूहले नै लिड गर्न सक्ने न्यौपानेको अनुमान छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.९१ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ०.३७ प्रतिशतले बढेको आज लगानी समूहमा ०.१७ प्रतिशत र व्यापार समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.२८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.१९ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.११ प्रतिशत, विकास बैंक समूहमा ०.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत, लघुवित्त समूहमा ०.३३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता सेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७०.४९ रुपैयाँमा किनबेच भएको छ। 

आज रिडी हाइड्रोपावरको सर्वाधिक ४९ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३१ करोड २४ लाख रुपैयाँ, हिमालयन पावर पाटर्नरको १९ करोड ५० लाख रुपैयाँ, अपी पावरको १६ करोड ९० लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १६ करोड ४ लाख रुपैयाँ, नेसनल हाइड्रोको १५ करोड २० लाख रुपैयाँ, युनिभर्सल पावरको १२ करोड ६४ लाख रुपैयाँ र अरुण काबेली पावरको ११ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीको सेयरभाउ पोजिटिभ सर्किट लागेको छ। हिमालयन पावर पाटर्नरको सेयरभाउ १० प्रतिशत र सानिमा लाइफ इन्स्योरेन्सको १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। रैराङ हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज रिडी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।