काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पाँचौँ दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। 

बजार आज ७४.९३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०३७.६४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.६३ अंकले बढेर ३९१.७८ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार मुक्ति अर्याल आजको बढाइले लगानीकर्ताको मनोबल बढ्दै गएको बुझ्न सकिने बताउँछन्। ‘विगत ६ दिनको कारोबारमा ४ दिन बजार बढेको छ, यसले लगानीकर्ताको मनोबल बढ्न थालेको बुझ्न सकिन्छ’, उनले भने। 

आजको बढाइमा भोलुम पनि बढेको उल्लेख गर्दै अर्यालले भने, ‘आज बजारको बढाइमा कन्सिटेन्सी देखिन्छ, यसले बजारको बढाइ दिगो हुने संकेत पनि गर्छ।’

अब मार्जिन कल रोकिएको र बजार फर्किएको पनि बुझ्न सकिने अर्यालको भनाइ छ। 

सक्रिय लगानीकर्ता दामोदर गजुरेल आज बजारमा उछाल आउनुमा विभिन्न कारण रहेको बताउँछन्। ‘पहिलो कारण लगानीकर्तामा १८०८ को न्यून विन्दुबाट बजार तल जाँदैन भन्ने विश्वास थियो, जुन बजारले पुष्टि गर्यो’, उनले भने। 

सीडी रेसियो ९० भन्दा तल रहेकोले तरलता पनि सहज हुँदै गएको गजुरेल बताउँछन्। ‘जसका कारण मार्जिन कल र फोर्स सेलिङ रोकिएको छ’, उनले भने।

पछिल्लो समयमा सबैको सरोकार सेयर बजार बन्दा र धितोपत्र बोर्डको सक्रियताले लगानीकर्तामा मनोबल बढेको गजुरेल बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ७.३१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ६.९८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.२ प्रतिशत, विकास बैंक समूहमा ६.१३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.८८ प्रतिशत, जलविद्युत समूहमा ४.८६ प्रतिशत, लगानी समूहमा ३.३९ प्रतिशत, जीवन बीमा समूहमा ३.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.१२ प्रतिशत, लघुवित्त समूहमा ४.८१ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.७८ प्रतिशत र अन्य समूहमा ५.९२ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७२ लाख ५४ हजार ७० कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ९ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख रुपैयाँबराबरको आज एसिन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड ६८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ४२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ३४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ११ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। 

नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत र न्यादी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्योदय वोमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, रिलायन्स फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। पाँचथर पावर, कालिका पावर, मितेरी डेभलपमेन्ट र सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन बरुण हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।