काठमाण्डौ। संस्थागत सुशासनका लागि सार्वजनिक र निजी जुनसुकै कम्पनीहरुले समयमै वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ। त्यसमा पनि पब्लिक लिमिटेड भएका र नेप्सेमा सूचीकृत भएका कम्पनीको त झनै बढी सर्वसाधारणप्रति उत्तरदायित्व हुनुपर्ने  हुन्छ। 

आर्थिक वर्ष २०७८/७९ सम्म नेप्सेमा २३५ कम्पनी सूचीकृत रहेका छन्। तर, तीमध्ये जम्मा १६९ सूचीकृत कम्पनीले मात्रै आर्थिक वर्ष २०७७/७८ को साधारणसभा गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जनाएको छ। कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्छ। अन्यथा कम्पनी ऐनबमोजिम जरिवाना तिर्नुपर्ने हुन्छ। 

अहिले नेप्सेमा सूचीकृत कम्पनीमध्ये विविध कारणले २८ वटा जलविद्युत कम्पनीसहित ६६ वटा कम्पनीले वार्षिक साधारणसभा समयमै गर्न नसकेको धितोपत्र बोर्डले जनाएको छ। ‘यसरी वार्षिक साधारणसभा नगर्नेमा बीमा कम्पनीहरु पनि धेरै छन्’, सेबोनका एक अधिकारीले भने। 

सरकारी कम्पनीहरुमा विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले धेरै आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न नसकेको ती अधिकारीले बताए। राष्ट्रिय बीमा कम्पनीले २०६७/६८ देखि र विशाल बजार कम्पनीले पनि २०७१/७२ देखि वार्षिक साधारणसभा आयोजना गर्न सकेको छैन।