काठमाण्डौ । सेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको छ।

बजार आज ६.७२ अंकले घटेर २१८६.७६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६३ अंकले घटेर ४२०.५० को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार मुक्ति अर्याल आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताए। ‘बजार केही बढेकोले आज करेक्सन आएको हो’, उनले भने।

आज जारी भएको राष्ट्र बैंकको सर्कुलरले पनि बजारमा द्विविधा सिर्जना भएको अर्यालको भनाइ छ। ‘सर्कुलरमा बजारका लागि केही राम्रा र केही नराम्रा व्यवस्था आएका छन्’, उनले भने, ‘मुख्य गरी सर्कुलरमा गरिएको ब्याजदरको व्यवस्थाले लगानीकर्ता द्विविधा परेका छन्।’ 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि बजार ३०० अंकजति बढेकोले हिजो र आज करेक्सन आएको बताउँछन्। आज राष्ट्र बैंकले सर्कुलर जारी गर्दैै कोभिडका बेला दिइएको सुविधाहरु खारेज गरेको उल्लेख गर्दै घिमिरेले भने, ‘यसले बैंक तथा वित्तीय संस्थाहरुमा केही दबाब पर्न सक्छ।’

सर्कुलरमार्फत लाभांशका विषयमा राष्ट्र बैंकले ल्याएको व्यवस्था भने सेयर बजारलाई राम्रो रहेको घिमिरेको भनाइ छ। ‘बोनस बाँड्ने बाध्यकारी निर्णय खारेज हुँदा नगद लाभांश बढ्ने र यसले दीर्घकालमा बजारलाई राम्रो प्रभाव पार्छ’, उनले भने।

अब ब्याजदरले भने बजारको दिशा निर्धारण गर्ने घिमिरेको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ३.८१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.६४ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत र लघुवित्त समूहमा ०.१५ प्रतिशतको बढोत्तरी भएको छ।

आज दिन अन्य समूह सर्वाधिक १.११ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५ प्रतिशत, विकास बैंक समूहमा ०.५९ प्रतिशत, वित्त समूहमा ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२४ प्रतिशत, जीवन बीमा समूहमा ०.७२ प्रतिशत र लगानी समूहमा ०.३ प्रतिशतको गिरावटमा आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन २१८ कम्पनीका ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा किनबेच भएका छन्। 

आज शिवम समेन्ट सर्वाधिक २५ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १५ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीको ११ करोड १० लाख रुपैयाँ, युनिभर्सल पावरको ८ करोड ६६ लाख रुपैयाँ, कुमारी बैंकको ८ करोड ६२ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ६६ लाख रुपैयाँ र एचआईडीसीएलको ७ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सामलिंग पावार र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। युनाइटेड इदी मर्दी र समृद्धि फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।