काठमाण्डौ । सेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १९.०६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०३७.८३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले घटेर ३९१.६६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजारमा ४–१२ को प्रेसर बाँकी छ र ब्याजदर बढ्छ भन्ने सुनियोजित हल्लाका कारणले लगानीकर्ताको मनोबलमा असर गरेको बताउँछन्। ‘केही ब्रोकरहरुले पनि नयाँ ब्रोकर लाइसेन्सको मस्यौदा पारित गर्न नदिनका लागि दबाब सिर्जना गर्नका लागि घटाएको पनि सुनिन्छ’, उनले भने। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल ४–१२ को भदौ ८ सम्म सेटल गर्नुपर्ने भएकाले त्यसको असर परेको बताउँछिन्। ‘ब्याजदर बढ्ने हल्लाले पनि बजारलाई असर गरेको छ’, उनले भनिन्। 

आज नेप्से उपसमूहम रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.४६ प्रतिशतले उकालो लागेको छ।

आज वित्त समूह सर्वाधिक २.३८ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२३ प्रतिशत, व्यापार समूहमा ०.०१ प्रतिशत, विकास बैंक समूहमा १.६ प्रतिशत, जलविद्युत समूहमा १.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५२ प्रतिशत, अन्य समूहमा १.७८ प्रतिशत, लघुवित्त समूहमा ०.७३ प्रतिशत, जीवन बीमा समूहमा ०.७ प्रतिशत र लगानी समूहमा १.७९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेसमा सूचीकृतमध्ये २२३ कम्पनीका ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा किनबेच भएका छन्।

आज शिवम सिमेन्टको सर्वाधिक ७ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ८१ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ६० लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।

यो दिन युनिलिभरका सेयरधनीहरु धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।