काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश पटकपटक संशोधन गरेको विषयमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई स्पष्टीकरण सोधेको छ।

उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत कात्तिक ४ गते पत्र पठाई गुराँस लाइफसँग यस विषयमा चित्तबुझ्दो जबाफ माग गरेको हो। नेप्सेले पत्र पठाएको मितिले तीन कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन कम्पनीलाई निर्देशन दिएको छ। 

कम्पनीले उक्त आर्थिक वर्षका लागि सुरुमा १३.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। पछि बीमा समितिले लाभांश अस्वीकृत गर्दै संशोधन गर्न निर्देशन दिएको थियो। 

बीमा समितिको निर्देशनपछि कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउने ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। तर कम्पनीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ हकप्रद सेयर जारी भई सो हकप्रद सेयर नेप्सेमा सूचीकरण भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएको छ। 

सोही कारणले अब सेयरधनीहरुलाई नयाँ कायम हुने चुक्तापुँजीको ५.२५ प्रतिशतले बोनस सेयर वितरण गर्ने र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो दसौँ वार्षिक साधारणसभा डोकेको छ ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थका लागि कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।