काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ कम्पनीको दोस्रो बजारमा धितोपत्र कारोबार फुकुवा गरेको छ। 

नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी लिमिटेड, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र नेसनल माइक्रोफाइनान्स लघुवित्तको धितोपत्र कारोबार फुकुवा गरेको हो। यसअघि आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा पेस नगरेको भन्दै यीसहित ११ कम्पनीको धितोपत्र कारोबार नेप्सेले गत माघ २६ गतेबाट रोक्का गरेको थियो। 

यी ७ कम्पनीले नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीका वार्षिक वित्तीय विवरण अपलोड गरी रोक्का राखिएको धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

ती कम्पनीलाई आगामी दिनमा समयमै वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा अपलोड गर्न सचेतसमेत गराइएको नेप्सेले उल्लेख गरेको छ।