– भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न अर्थ मन्त्रालयसमक्ष ३ वटा प्रस्ताव पेस भएका छन्।

नेप्सेको सेयर स्वामित्वमा सरकारको हिस्सा घटाउने र पुनर्संरचनाको मोडलका विषयमा अर्थ मन्त्रालयसमक्ष नेप्सेले ३ वटा प्रस्ताव पेस गरेको हो। नेप्सेमा सरकारी स्वामित्व घटाई निजीकरण गर्ने धेरै वर्ष अघिदेखिको मुद्दामा नेप्सेको पुनर्संरचना गर्न ३ वटा प्रस्ताव पेस भएको नेप्सेस्थित एक अधिकारीले जानकारी दिए।

नेप्सेको पुनर्संरचना गर्दा पहिलो प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकको स्वामित्व १० प्रतिशतभन्दा मुनि राख्ने र दोस्रो राष्ट्र बैंकको सेयर सरकारले नै खरिद गर्ने उल्लेख छ। यसैगरी तेस्रो प्रस्तावअनुसार नेप्सेको पुँजी बढाएर स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समावेश गरिएको छ।

धेरै समयदेखि नेप्सेको पुनर्संरचनाको बहस उठान भए पनि सरकारको स्वामित्व भने घट्न सकिरहेको छैन। गत वर्षमात्रै नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्व २ निजी क्षेत्रका बैंकलाई सेयर बिक्री गरेको थियो।

बजार सञ्चालकको एकाधिकार बनाउँदै आइरहेको नेप्सेलाई समेत हाल मानव संसाधन, पुँजी तथा प्रविधिमा स्तरोन्नति गर्नुपर्ने बाध्यता छ। बजार सञ्चालकले नयाँ–नयाँ औजारको खोज, अनुसन्धान तथा विकासका लागि पनि उच्च गुणस्तरीय मानव संसाधन, पुँजी तथा प्रविधिमा खर्चिनुपर्ने आवश्यकता दिनानुदिन बढिरहेको छ।

नेप्सेको हाल ५० करोड चुक्ता पुँजी रहेको छ। गत आर्थिक वर्षको मुनाफाबाट मात्र नेप्सेले २० प्रतिशत नगद र ३० प्रतिशत बोनस सेयर वितरण गरेको छ। नेप्सेले आव २०७४/७५ मा ६६ प्रतिशत र आव ७५/७६ मा ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको २४.६० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र सदस्य दलाल व्यवसायीको ०.६२ प्रतिशत सेयर हिस्सा छ।