काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारले फेरि नयाँ नयाँ कीर्तिमानहरु बनाउन थालेको छ । मंगलबार बजारले यस्तै केही कीर्तिमानहरु बनाएको छ । 

यो दिन नेप्से परिसूचक अलटाइम हाईलाई ब्रेक गर्दै नयाँ उचाईमा पुगेको छ भने कारोबार रकममा समेत रेकर्ड कायम भएको छ । 

यो दिन नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ को विन्दूमा पुगेको हो । यो नेप्सेको सर्वाधिक उचाई हो । 

यस्तै, यो दिन ११ अर्ब ३५ करोडको कारोबार भएको छ । एकैदिन यति धेरै रकम बराबरको सेयर कारोबार अहिलेसम्म भएको थिएन । यसअघि माघ २६ गते १० अर्ब ६२ करोडको कारोबारको कीर्तिमान कायम भएको थियो । त्यसलाई ब्रेक गर्दै बजारले आज कारोबारमा समेत नयाँ कीर्तिमान बनाएको हो । 

यस्तै, यो दिन सबैभन्दा बढी कित्ता कारोबारको समेत नयाँ कीर्तिमान बनेको छ । यो दिन २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर किनबेच भयो ।