काठमाण्डौ । साताको पहिलो दुई दिन दोहोरो अंकले बढेको पूँजीबजारमा मंगलबार १.१४ अंकको झिनो बढोत्तरी भए पनि कारोबार रकम भने एकअर्ब माथि पुगेको छ । नेप्से परिसूचक १४८४.०४ को नयाँ विन्दूमा पुगेको छ । 

बिमा समूह चम्किँदा बजार उक्लिएको हो । उत्पादनमूलक समूह, होटल समूहको नेप्से परिसूचक पनि उक्लिएको छ । वाणिज्य बैंक र विकास बैंक समूहको सूचक भने ओर्लियो । यी दुई समूहको सूचक ओरालो लागेका कारण समग्र बजार परिसूचकमा झिनो मात्र बढोत्तरी देखिएको हो । 

मंगलबार एकैदिन बिमा समूहको सूचक १९१.१ अंकले उक्लियो । उत्पादनमूलकमा २८.५९ अंकको बढोत्तरी देखियो भने होटल समूह १७.९४ अंकले उभो लाग्यो । जलविद्युत समूहको सूचक पनि २.४३ अंकले उक्लियो । वाणिज्य बैंक समूह ७.९९, विकास बैंक २.७ र बित्त समूह ४.७८ अंकले ओरालो लागे । 

कुल १ सय ३४ कम्पनीका १९ लाख १० हजार कित्ता शेयर १ अर्ब ७ करोड ९९ लाख रुपैयाँमा किनबेच भयो । मंगलबार नेपाल बैंक लिमीटेडको मात्रै ७ करोड ४६ लाख मूल्यका शेयर किनबेच भए । लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड २९ लाख, नेपाल बंगलादेश बैंकको ६ करोड ८ लाख मूल्यका शेयर खरीदबिक्री भए । एनआइसी एशिया बैंकको ५ करोड ९२ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४६ लाख मूल्यका शेयर किनबेच भए । 

मंगलबार शिखर इन्स्योरेन्स, नमस्ते बित्तीय संस्था, हामा मर्चेन्ट, लुम्बिनी इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, लुम्बिनी फाइनान्स, एनआइडीसी क्यापिटल र काक्रेबिहारका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । बजारमा मिश्रित अवस्था देखिए पनि सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.११ र ०.३ अंकले उक्लिएका छन् ।