काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १२४.८५ प्रतिशतको छलाङ मार्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७ करोड ४ लाख रुपैयाँ बढी कमाउन सफल भएको छ ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३९ करोड १५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष २८ करोड ८५ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा १९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ३ करोड २३ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ६ लाख रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले २ अर्ब २५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ३ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ९५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी पनि ३४ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३९.५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ३३ करोड ९६ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर ४७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ३१.९० रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १४.७० गुणा, प्रतिसेयर नेटवर्थ २१९.१९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२८.६१ रुपैयाँ रहेको छ ।