काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को लाभांश पारित गदै नेशनल लाइफ इस्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

सभाले आ.व. २०७४/७५ का लागि चुक्ता पूंजीको २.५ प्रतिशत बोनस सेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, बोनस शेयरबापतको कर प्रयोजनका लागि ३९ लाख ५७ हजार १५८.५९ नगद लाभांश प्रस्ताव पारित गरेको हो । सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आ.व. २०७४/७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै उक्त वर्ष कूल रु. ६ अर्ब ४४ करोड ७६ लाख बीमाशुल्क संकलन संकलन भएको र रु. २ अर्ब ५ करोड कूल दाबी भुक्तानी गरेको एवं रु. ४७ करोडको खुद मुनाफा आर्जन गरेको बताइन् ।

यसैगरी आ.व. २०७४÷७५ को अन्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले वृद्धि भई रु. २०.९५ करोड पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ असार मसान्तसम्ममा रु. २१ अर्ब ४७ करोड पुगेको जानकारी सिंहले दिइन् ।

अध्यक्ष सिंहले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी रु. ३ अर्ब नाघेको जानकारी गराइन् । लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल वृद्धि गर्नेतर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणामस्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको उनले बताइन् ।