काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (पुस ५ गतेदेखि पुस ७ गतेसम्म) ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम’ काठमाण्डौस्थित होटेल सोल्टीमा सम्पन्न गरेको छ।

आ.व. २०७८–७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। 

कार्यक्रममा उपस्थित अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कलासम्बन्धी तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो। यसका साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो। 

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ठ घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरेका थिए।

समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यावसायिक नेतृत्वका आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने उल्लेख गर्दै कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धत्ता प्रकट गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिबद्धता जनाए। 

उक्त समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालका व्यवसायबाट अलग अलग प्रथम, द्वित्तीय, तृत्तीय हुने लिडर अभिकर्ता र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तीय र तृत्तीय हुने अभिकर्ता र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जनालाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्रलगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो।

सम्मानित बिजनेस लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।