काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख १० हजार कित्ता सेयर लिलामीमा राख्ने भएको छ।

संस्थाले यही असोज २ गतेबाट संस्थापक समूहको सेयर लिलामीमार्फत बेच्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ६ गते (बैंकिङ समयसम्म) तोकिएको छ। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोही न्यूनतम मूल्य वा वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

संस्थाको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड तोकिको छ। त्यसैले लगानीकर्ताले एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्रहरु कात्तिक १८ गते अपराह्न ३ बजे एनआईबीएल एस क्यापिटलको कार्यालयमा खोलिने बताइएको छ।