काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औँ वार्षिक साधारणसभा पुनः यही चैत ११ गते डाकिएको छ। 

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले स्थगित वार्षिक साधरणसभा पुनः आह्वान गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा दिउँसो १ बजेबाट हुनेछ। 

यसअघि कम्पनीले हिजो फागुन ३० गते वार्षिक साधारणसभा डोकेको थियो। तर, गणपूरक संख्या नपुगी स्थगित भएको छ। 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कम्पनीको चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। जसमा १८.५२५ प्रतिशतले हुन आउने २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशतले हुन आउने १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

हकप्रद सेयर जारी गर्नका लागि नियमनकारी निकायबाट संशोधन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन भएमा सो कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत फागुन १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थ फागुन १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।