काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि यही पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीले काठमाण्डौ बूढानीलकण्ठबाट हेलिकप्टरमा गोसाइँकुण्डको भ्रमण गराएको हो।

भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्तालाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताको मनोबल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। 

देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब २०० जना अभिकर्तालाई उनीहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए। 

कार्यक्रममा सहभागी अभिकर्ताले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।