– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लघुवित्त संस्थाहरुमध्ये गत आर्थिक वर्ष २०७८–७९ का लागि सबैभन्दा पछिल्लोपटक लाभांश घोषणा गर्नेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ।
नेष्डो समृद्ध लघुवित्तले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको छ। जसअनुसार संस्थाले चुक्तापुँजी ५० प्रतिशत बोनस सेयर र २३.६८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।
नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश घोषणा गरेसँगै सेयर बजारका लगानीकर्ताहरुमा अनेकन आशंका उब्जिएका छन्। किनकि केही समययता नेपाल राष्ट्र बैंकले धमाधम लघुवित्त संस्थाहरुले प्रस्ताव गरेको लाभांशमा कटौती गरिरहेको छ।
राष्ट्र बैंकले गत फागुन १० गते परिपत्र जारी गर्दै लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरेको छ। उक्त परिपत्रअनुसार १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त संस्थाले राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
फलस्वरुप राष्ट्र बैंकले यसअघि जीवन विकास लघुवित्तले प्रस्ताव गरेको लाभांशमा दुईपटक संशोधन गर्न लगाएको थियो। दुईपटकको संशोधनमा यो लघुवित्तले प्रस्ताव गरेको लाभांश २० प्रतिशतभन्दा बढीले घटाएको छ।
यसैगरी राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश घटाउन लगाएको थियो।
यसरी राष्ट्र बैंकले धमाधम लघुवित्त संस्थाले प्रस्ताव गरेको लाभांश घटाउन थालेपछि नेष्डो समृद्ध लघुवित्तले प्रस्ताव गरेको बम्पर लाभांश के होला भनेर आमलगानीकर्तामा चासोको विषय बनेको छ। जसका कारण लाभांश घोषणा गरेकै दिन यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावट आएको थियो।
नेष्डो समृद्ध लघुवित्तका कम्पनी सचिव कमल शर्माले आफूहरुले राष्ट्र बैंकले तोकेको सबै मापदण्ड पूरा गरेर लाभांश प्रस्ताव गरेको दाबी गरे। ‘हामीले चुक्तापुँजीको कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेका छौँ’, उनले भने, ‘त्यसैले १५ प्रतिशतभन्दा माथिको ५८.६८ प्रतिशत लाभांशबराबरको रकमको ५० प्रतिशत जगेडा कोषमा, ३५ प्रतिशत सामाजिक उत्तरदायित्व कोष र १० प्रतिशत ग्राहक संरक्षण कोषमा राखेका छौँ।’
नियमअनुसार लाभांश घोषणा गरिएकोले राष्ट्र बैंकले पनि सहजै वितरणका लागि स्वीकृति दिने शर्माको भनाइ छ। अब अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा १–२ दिनभित्रै वित्तीय विवरणभित्र पेस हुने पनि उनले जानकारी दिए।
यता राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले नियमसंगत ढंगले लाभांश प्रस्ताव गर्ने लघुवित्त संस्थाहरुलाई वितरणका लागि स्वीकृति प्रदान गरिने बताए। ‘नियमभित्र रहेर प्रस्ताव गरिएका लाभांशलाई राष्ट्र बैंकले रोक्दैन’, उनले भने।
प्रवक्ता भट्टले लघुवित्त संस्था सामाजिक उत्तरदायित्वमा बढी केन्द्रित हुनुपर्ने बताए। ‘लघुवित्त संस्थाको १५ प्रतिशत लाभांश नराम्रो होइन’, उनले भने।
लघुवित्तले आफ्नो आम्दानीलाई ग्राहक संरक्षण कोषमा लगाउनुपर्नेमा पनि भट्टले जोड दिए। ‘लघुवित्त संस्था खासगरी बंगलादेशको मोडेलबाट आएका हुन्’, उनले भने, ‘त्यही मोडेलमा चल्नुपर्छ भन्ने मान्यता राष्ट्र बैंकको हो।’
राष्ट्र बैंकको लघुवित्त सुपरिवक्षेण विभागका एक अधिकारीले नियमसंगत ढंगले लाभांश प्रस्ताव गरेका ३९ वटाभन्दा बढी लघुवित्त संस्थाको लाभांश १५ प्रतिशतभन्दा बढी नै स्वीकृत भएको बताए। नेष्डो समृद्ध लघुवित्तको विषयमा ती कर्मचारीले भने, ‘अहिले नै केही भन्न सकिँदैन तर नियमभित्र रहेर चल्ने संस्थाको लाभांश राष्ट्र बैंकले कटौती गर्ने वा रोक्ने काम गर्दैन।’
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago