– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अहिले बीमा समूहमा निकै चमक आइरहेको छ। निर्जीवन तथा जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको पाइएको छ। 

हिजोआज जीवन बीमा गर्ने तथा बीमा कम्पनीहरुमा लगानी गर्नेहरु दैनिक बढिरहेको छ। जीवन बीमा कम्पनीहरुमध्ये पुरानो नेसनल लाइफ इन्स्योरेन्समा अहिले अचाक्ली आकर्षण बढेको छ। यो कम्पनीले बजारमा नयाँनयाँ स्किमका साथै आक्रमण ढंगले व्यवसाय बढाएका कारण प्रतिफल राम्रै पाइने आशामा लगानीकर्ताहरु देखिन्छन्। सोही कारणले पनि अहिले यो कम्पनीका सेयर किन्नेहरुको होडबाजी नै चलेको देखिन्छ।

यसरी लगानीकर्ताहरुको आकर्षणको केन्द्र बन्दै गएको नेसनल लाइफ इन्स्योरेन्सको आधारभूत र प्राविधिक पक्ष कस्तो छ त ? हेरौँ –

आधारभूत पक्ष

आर्थिक वर्ष २०७७/७८ मा यो कम्पनीले ५ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी बीमा शुल्क संकलनका आधारमा चौथो स्थानमा रहेको छ। यो कम्पनीको ७ वर्षको लाभांश हिस्ट्री हेर्ने हो भने आ.व. २०६९/७० बाट २०७५/७६ सम्म क्रमशः १०, २.५, १३.५, २५, ३०, ३०, ५५ प्रतिशत बोनस सेयर वितरण गरेको देखिन्छ। यो हिसाबले लगानीकर्ताहरुले वार्षिक औसत प्रतिफल १९.४३ प्रतिशत पाएको देखिन्छ। गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न अझै बाँकी नै छ। 

३ अर्ब ८ करोड चुक्तापुँजी रहेको यस संस्थाको रिर्जभमा भने १ अर्ब १४ करोड रुपैयाँ रहेको देखिन्छ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्त

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक बिश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यो वेभमा पाँच वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान तीन वेभ हुन्छन्। माथि लाग्ने पाँच वेभमा पनि तीनवटा चढावका र दुईवटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीमा भने बजार तल जाने संकेत गर्छ।

 

आरएसआई

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभरसोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ६१.२६ रहेको छ। जसको अर्थ हुन्छ, यो सेन्ट्रल जोनभन्दा माथि छ र भविष्यमा यसको मूल्य केही करेक्सन हुँदै पुनः माथि जाने सम्भावना देखिन्छ।

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन  गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको  अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो एमसीडी लाइनले तलबाट सिग्नल लाइनलाई काटेको हुँदा र हिस्टोग्राम पोजेटिभ हुँदै गएकोले भने यो कम्पनीको मूल्य भविष्यमा बढ्ने देखिन्छ।

 

मैनबत्ती विश्लेषण 

यो कम्पनीको अन्तिम कारोबारलाई आधार मान्दा कालो मैनबत्ती बनेको छ। जसले घट्दो बजारलाई संकेत गर्छ। यो मैन बत्ती जति लामो भयो घट्दै जाने हुन्छ भने जति छोटो हुँदै गयो बढ्दै जाने हुन्छ। 

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– १२४२ 

प्रतिराध २– १२७४   

प्रतिराध ३– १३३७

पिभट पोइन्ट – १२१७

घटेमा सर्पोट 

सपोर्ट १– ११८५

सर्पोट २– ११६०

सर्पोट ३– ११०३

प्राविधिक विश्लेषण आफैँमा पूर्ण नभईकन यो एउटा आधार हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो स्वविवेक आवश्यक हुन्छ।