काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। 

एनसीएचएल र २९ बैंक तथा वित्तीय संस्थाबीच आज एक औपचारिक कार्यक्रममा  सम्झौता भएको हो। एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौतापत्र आदान प्रदान गरेका हुन्।  

यसका साथै नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डाक्टर नीलम ढुंगाना तिम्सिना, डेप्युटी गभर्नर बमबहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिच्युसन संघका अध्यक्षहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ पदाधिकारीहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवं भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रमुख कार्यकारी एवं उच्च पदाधिकारीसमेतको उपस्थिति थियो। 

नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत उल्लेख भएबमोजिम नेसनल पेमेन्ट स्विचको स्थापनाका लागि एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागिभ ने अन्तिम स्वीकृति गत कात्तिकमा प्राप्त भएको हो। यसै क्रममा नेसनल पेमेन्ट स्विचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेसनल पेमेन्ट स्विचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलको कार्ययोजना रहेको छ। कार्डबाहेकका भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौतापश्चात यसको कार्यान्वयन अघि बढ्ने एनसीएचएलले जनाएको छ। 

नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिल र गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरुउपलब्ध हुनेछन्। उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईका मार्फत बैंक तथा वित्तीय संस्था तथा गैरबैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्। 

त्यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेसनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको एनसीएचएलले जनाएको छ। 

नेसनल पेमेन्ट स्विचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालासँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरेको छ।   

यी हुन् नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने बैंक तथा वित्तीय संस्थाहरु -