काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै फोकसवान नेसनल पेमेन्ट स्विचमा जोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको छ। नेसनल पेमेन्ट स्विचअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने विभिन्न सेवा तथा उपकरणहरु फोकसवान आफूले प्रयोग गर्नुका साथै अन्य विभिन्न बैंक तथा वित्तीय संस्थालाई पनि उपलब्ध गराउनेछ।  

नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत उल्लेख भएबमोजिम नेसनल पेमेन्ट स्विचको स्थापनाका लागि एनसीएचएललाई नेपाल राष्ट्र बैंकद्वारा पहिलो चरण कार्यान्वयनका लागि अन्तिम स्वीकृति प्राप्त भइसकेको तथा एनसीएचएले पहिलो चरणसँग सम्बन्धित कार्यहरु पूरा गरी सञ्चालनको तयारीमा रहेको छ। 

यसै क्रममा नेसनल पेमेन्ट स्विचको कार्यान्वयनका लागि एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र भुक्तानी सेवाप्रदायकहरुसँग आवश्यक सहकार्यता गरिरहेको छ।  

नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धतालगायतका भुक्तानी उपकरण उपलब्ध हुने छन्। उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईका मार्फत बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्।

त्यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेसनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ। नेसनल पेमेन्ट स्विचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालासँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरेको छ।  

फोकसवान नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त संस्था हो। स्थापनाकालदेखि नै फोकसवानले आफ्ना ग्राहकका लागि सुरक्षित रुपमा कारोबार गर्नका लागि विभिन्न डिजिटल सेवा प्रदान गर्दै आएको छ। ग्राहकलाई थप सेवासुविधा प्रदान गर्नका लागि फोकसवानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गर्दै आएको छ।