काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। त्यसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको हो। 

प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले आउँदो माघ १५ गते वेबिनारमार्फत ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाण्डौ लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ २ गतेदेखि माघ १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।