काठमाण्डौ । नोटलाई जतनसाथ प्रयोग गर्न नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसैले नोटलाई जतनसाथ प्रयोग गरौँ।’

राष्ट्र बैंकले नोटमा केरमेट र मैलो पार्ने काम नगरी सुकिलो नोटको प्रयोग गर्ने बानी बसाल्न पनि आग्रह गरेको छ। ‘नोट जतन गर्न मनीब्यागको प्रयोग गर्ने बानी बसालौँ’, सूचनामा भनिएको छ।

नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्ता कार्य बन्द गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ। 

धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दूध, रगत आदि नपार्न पनि राष्ट्र बैंकले सुझाएको छ। ‘बरु खामको प्रयोग गर्ने, दानपेटिकामा खसाल्ने तथा रसिद लिई चन्दा दिने गरौँ’, राष्ट्र बैंकले भनेको छ।

भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरु पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्न वा जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

कारोबारको भुक्तानी दिँदा सकभर विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।