काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्दै गएको देखिएको छ। 

सरकारलाई तिरेको कर र पुनरकर्जाको रकम बजारमा नजाँदा तरलतामा दबाब पर्दै गएको हो। अर्कोतर्फ केही वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेकोले पनि तरलता संकट चुलिएको देखिन्छ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले ९ वटा वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी देखिएको छ। ‘१६ वटा वाणिज्य बैंकको सीडी रेसियो ८५ प्रतिशतभन्दा माथि र एउटाको मात्रै ८१.४५ प्रतिशत रहेको छ’, उनले भने। 

सहप्रवक्ता पोखरेलका अनुसार अहिले अधिक तरलता २१ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। ‘पुनकर्जाको रकम र सरकारलाई तिरेको करको रकम बजारमा नजाँदा तरलतामा दबाब पर्दै गएको हो’, उनले भने। 

हाल अन्तरबैंकिङ ब्याजदर ४.९५ प्रतिशत रहेको छ। तरलता सहज हुँदा अन्तरबैंकिङ ब्याजदर १ प्रतिशतभन्दा पनि तल झरेको थियो। 

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १५ अर्ब रुपैयाँ र कर्जा परिचालन ४४ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। 

सहप्रवक्ता पोखरेलले विभिन्न मौद्रिक औजारमार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको पनि जानकारी दिए। 

हालै राष्ट्र बैंकले सर्कुलर जारी गर्दै अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्रै परिवर्तन गर्न सक्ने प्रावधान ल्याएकोमा सहप्रवक्ता पोखरेलले भने, ‘यो प्रावधान ब्याजदर नियन्त्रण गर्नभन्दा पनि बैंक तथा वित्तीय संस्थालाई अनुशासनमा ल्याउन ल्याइएको हो।’