काठमाण्डौ । एनआइसी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी कोभिड १९ का कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी, खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो । 

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पुर्याउन बैंक सफल देखिएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ ।

त्यसैगरी प्राथमिकताप्राप्त क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रूपले पालना गरेको छ । विविधिकरणकै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहकहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । 

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको देखिएको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत मात्र रहेको छ, यो पनि बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो । 

बैंकले चालु आ. व. को ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधिमा १५ अर्बले बढेको छ । 

निक्षेप तर्फ १० ग्राहकहरूको अंश ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेप(कासा)को हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा परेको छ । 

यो बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा बैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याइसकेको छ । 

हाल यो बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकसँग २१ लाख बढी ग्राहक जोडिएका छन् ।