काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आयोजित कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

यो आईपीओमा कुल २२ लाख ५५ हजार ८४ आवेदकबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ता सेयर माग भएको थियो। जसमा १३ हजार ९४६ आवेदकबाट माग भएको कुल १ लाख ८४ हजार ७० कित्ता सेयर बदर भएको छ। 

क्यापिटलका अनुसार २२ लाख ४१ हजार १३८ आवेदकबाट परेको २ करोड ६९ लाख ५ हजार ८० कित्ता सेयरमात्र सदर भएको छ। सदर आवेदकमध्ये २ लाख ९ हजार २५० आवेदकले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्।

यो आईपीओको नतिजा केही घन्टापछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। आईपीओ अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा, ग्लोबल आइएमई क्यापिटल र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ। 

यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।