काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार काठमाण्डौको नक्सालस्थित क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे हुनेछ। 

यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो कम्पनीको आईपीओमा २३ लाख ५७ हजार बढी आवेदकबाट २ करोड ९४ लाख ७७ हजार बढी कित्ता खरिदको माग गर्दै आवेदन परेको छ। आईपीओमा मागभन्दा १४ गुणा बढी आवेदन परेको छ । 

मागभन्दा बढी आवेदन परेकै कारण आईपीओ गोलप्रथाबाट वितरण हुनेछ। जसअनुसार २ लाख ९ हजार २५० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने २१ लाख ४७ हजार बढीको हात खालि हुने भएको छ। 

कम्पनीले गत साउन ११ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।