काठमाण्डौ । नयाँ घरमा सर्ने सुरसार हुँदै थियो । तयार भइसकेको घर सर्ने साइत जुरेको थियो नयाँ वर्षको पहिलो दिन । 

काठमाण्डौको ज्ञानेश्वरमा बनेको नयाँ घरमा आफ्ना बालबच्चासँगै सर्ने शारदादेवी पन्तको सपना अधूरै रह्यो । घर सर्ने साइत जुरेको साताअघिनै उनको अचानक निधन भयो । 

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त, आफ्नी आमा शारदादेवीको त्यो असामयिक र सपनाजस्तो लाग्ने निधनको घटनाबाट परेको चोटबाट अझै मुक्त हुन सकेका छैनन् । 

आमाको विषयमा कुरा सुरु नहुँदै उनले हामीसँग भने–‘आमा गएको पीडाबाट म अझै बाहिर निस्किन सकेको छैन । आमा जानुभएको चार वर्ष बित्दा समेत मेरो आँखा ओभाएका छैनन्, मन सम्हालिएको छैन ।’ 

यति भनि नसक्दै उनको आँखामा टिलपिल आँसु भरिसकेको थियो । केही समयको अनौपचारिक कुराकानीपछि आफूलाई सम्हालेका उनी बल्ल आमाको विषयमा कुरा गर्न तयार भए । 

दिवंगत आमा र उनीसँग बितेका विगतलाई सुनिलबल्लभ पन्तले बिजशालमार्फत सेयर गरेका छन् । बाँकी उनकै शब्दमा:

मेरो मामूलाई साधारण घाँटीको इरिटेसन जस्तो भएको थियो, घाँटीमा खस खस भयो भनेर चेक गर्न लैजाँदा मात्रै चौथो स्टेजको क्यान्सर पत्ता लागेको थियो । ०७२ सालमा उहाँको ७२ वर्षकै उमेरमा निधन भयो । महाभूकम्पअघि हाम्रो परिवारले अझ ठूलो भूकम्प भोगिसकेको थियो । 

हामी दुई दाजुभाई र एक दिदी हौ । म परिवारको कान्छो छोरो हुँ, मेरो बाल्यकाल काठमाण्डौको ज्ञानेश्वरमै बितेको हो । 

आमा गएपछि मलाई उहाँसँग सँगै टाँसिएर बसेको क्षण मात्र सम्झना आउँछ । बाल्यकालमा उहाँको काखमा बसेको सम्झनाले सताइरहन्छ । अरु केही सम्झना आउँदैन ।(फेरि उनका आँखामा आँसु टिलपिलाए)  

आमाको सपना
सबै आमाहरुले सन्तानहरु राम्रो बाटोमा हिँडिदिउन् भनेर सोच्ने नै हो । उहाँले मलाई इञ्जिनियर बनाउन चाहनुहुन्थ्यो । त्यो हुन सकिँन । तर, बिमा क्षेत्रमा मेरो करिअर बन्दै जान थालेपछि भने उहाँले राम्रो मात्रै होस् भन्ने चाहनुहुन्थ्यो । जुन–जुन क्षेत्रमा रहे पनि काम चाहि ठीक गर्नुपर्छ भन्नुहुन्थ्यो। 
यो क्षेत्रमा लागेपछि पनि लामो समयसम्म उहाँसँग सँगै बस्न पाएँ । गल्ती काम नगर्नू भन्नुहुन्थ्यो । 

उहाँ पनि मेरो लागि साथी हुनुहुन्थ्यो । एकअर्काका साथी थियौं हामी । 

आमाबाट सिकेको जीवनमन्त्र
उहाँको १३ वर्षमा विवाह भएको रे । तत्कालीन अवस्थामा पनि उहाँलाई स्याहार सुसार गर्ने छुटटै सुसारे थिइन, इजार पनि सुसारेले लगाइदिने परिवेशको परिवारबाट आउनुभएको थियो । हाम्रो घरमा आउँदा खाना आफैंले बनाउनुपर्ने, त्यो बेलासासू ससूराको गाइडलाइनमा अगाडि बढ्नेलाई असल बुहारी भनिन्थ्यो, समाजमा । त्यो चाहि मामूले असाध्यै राम्रो ढंगले निर्वाह गर्नुभएको मलाई लाग्छ । 

एकपटक एउटा घटना भएको छ । म एउटा कुनै बैंकमा गएको थिएँ, त्यहाँ गइसकेपछि त्यहाँ सो बैंकका सीइओ, डेपुटी सीइओ हुनुहुन्थ्यो । डेपुटी सीइओले ‘उहाँलाई हामी चिन्छौ, समाजमा महिलाहरुको उदाहरण दिंदा उहाँको मामूलाई दिने गर्छौ’ भन्नु भयो । व्यवसायिक क्षेत्रमा आमाको नामबाट मेरो पहिचान हुँदा म मख्ख परेको थिएँ । 

मेरो मुमामा व्यवस्थापनको राम्रो क्षमता थियो । परिवारमा छोराछोरी, श्रीमान, साससूससूरा, चेलीबेटी, भाञ्जाभाञ्जी सबैलाई म्यानेज गर्न सक्नुभएको थियो। सबै परिवार भेला हुँदा हामी ७० जना जति हुन्थ्यौं, सबैलाई म्यानेज गर्नसक्नु भएको थियो । उहाँबाट निकै राम्रो घर व्यवस्थापन भएको कुरा मलाई अहिले महसुस हुन्छ ।

उहाँले परिवारलाई वेल म्यानेज(उत्कृष्ट व्यवस्थापन) गरेर राख्नुभएको थियो । आफ्नो परिवारलाई एकअर्काप्रति भावनात्मक रुपमा बाँधेर राख्नुभएको थियो । गाढा प्रेम बनाएर राख्नुभएको थियो । त्यसमा आमाको नै हात हुँदो रहेछ ।

आमाको व्यवस्थापकीय क्षमता ममा पनि सरेको अनुभव गर्छु हिजोआज । 

घरपरिवार बाहिरको समाजले पनि आइडल लेडीको रुपमा लिन्थ्यो । ‘सबैलाई प्रेम गर, सिद्धिहाल्यो नि’ भन्नुहुन्थ्यो । मलाई पनि त्यही लाग्छ, अधिकार माग्यो भने अधिकार पाउँछ, घटाएर दिन्छ दिनेले । तर, त्यहाँ प्रेम भयो भने मागेको चिज भन्दा पनि बढी पाइन्छ । सबैलाई प्रेम गरिदिनु, भइहाल्यो नि । मैले मेरो मामूबाट सिकेको कुरा हो यो ।  

प्रेमले संसार जित्न सकिन्छ । प्रेममा कहिलेकाही रीस पनि आउँछ । त्यो रीस प्रेमका लागि हो भन्ने कुरा बुझ्यो भने करेक्नस हुन्छ, नभए हुँदैन । 

‘अरुलाई दोष नदेऊ, बरु दोष आफैंले लेऊ ।’ अरुलाई दोष दिएर के गर्छौ तिमीले ? करेक्सन गर्न सक्दैनौ । तिम्रो र मेरो बीचमा खटपट भयो भने ‘मेरो दोष’ भनेर सम्झ । अरुलाई दोष नदिएपछि सुखी भइन्छ । र, यो भावनात्मक दुःखबाट जति चाँडै निस्किन सक्यो, त्यति शान्ति मिल्छ । नभए अशान्तिले हामी घेरिएर बस्छौ । मैले यो शिक्षा पनि मामूबाट सिकेको हुँ ।  

कुनै घटना भए सकभर त्यसबाट बाहिर निस्किनुपर्छ, त्यसलाई मल्टिप्लाई गर्यो भने सधैं दुःखी भइन्छ । बरु आफैंलाई दोष दिएपछि सबै कुरा सिद्धिन्छ । 

अरुलाई दोष दिए इगो पनि आउन सक्ला । 

कसैलाई मेरो अनुहार हेर्न मन लाग्दैन भने अनुहार नदेखाइदिए भै गो नि । किन अनुहार देखाएर इरिटेड बनाउने ?

मभित्र पनि काम क्रोध लोभ मोह सबै चिज छ । तर अभ्यास गर्दै नकारात्मक सोंचलाई कम गर्दै जाने हो । कम गर्नलाई प्राक्टिस नै चाहिन्छ जस्तो लाग्छ । 

आमासँग दुःखी र खुशी भएको क्षण 
असाध्यै दुःखी भएको क्षण पनि छ । मेरो बुबालाई २५ वर्षअघि अचानक बाइपास सर्जरी गर्नुपर्यो भनियो । मैले त त्यो बेलासम्म बाइपास भनेर सुनेको पनि थिइँन । त्यो बेला आमा–छोरा बसेर असाध्यै रोएका थियौं, त्यो घटना सम्झँदा अहिले पनि मलाई अलि अलि गाह्रो नै परिरहेको छ। 

सो बेला अब हाम्रो जीवन नै सिद्धियो भन्नेजस्तो भएको थियो । र, फेरि मेरो लागि मेरो बुबा असाध्यै नै आदरणीय लाग्छ, एकदमै आदरणीय लाग्छ, अलि अलि मात्र होइन । मैले बोलेको कुराबाट पनि तपाईले बुझ्नुभयो होला।

मेरी कान्छी छोरी एसएलसी पास हुँदाखेरि मामू, दादा(बुबालाई दादा भन्छु) लगायत हामी असाध्यै खुशी भएका थियौ, यो करिब ८ वर्षअघिको कुरा हो।

मेरो जागिरमा प्रमोसन भएपिच्छे मुमा खुशी हुनुहुन्थ्यो । तर, म सीइओ भएको मामुले हेर्न पाउनुभएन ।

अधूरो काम
शारिरीक कुरा मेरो बसमा थिएन, तर मानसिक रुपमा आमाबुबालाई असाध्यै सुखी राख्छु भन्ने जीवनको उद्देश्य नै थियो । मानसिक रुपमा सुखी राख्नलाई के गर्नुपर्छ भन्ने कुरामा हामीहरु कुरा गथ्र्यौ, छलफल गथ्र्यौ, उहाँहरुलाई कुनै पनि किसिमको चोट नपुर्याउने भन्ने विषयमा मेरी पत्नीसँग कुरा हुन्थ्यो । तर, त्यो अब भएन, त्यो अवसर पाइँन । 

के हो आमा ?
आमा भनेको सृष्टिकर्ता हो । आमामा दुईवटा भूमिका छन्, अरुमा एउटै मात्र छन् । 

आमाले सृष्टि पनि गर्ने, सृष्टिको संरक्षण पनि गर्ने गर्नुहुन्छ । सन्तानलाई सवल र सक्षम बनाउने जिम्मेवारी पनि आमाको हुन्छ । बुबाको कार्य केही लुकेको पनि हुन्छ, पिताले कसरी यसलाई हुर्काउने बढाउने, हुर्काउने भन्ने कुरामा ध्यान हुन्छ । मलजल गर्ने, गाइड दिने लगायतमा आमाको दोहोरो भूमिका हुन्छ । 

संसारमा सबैभन्दा ठूलो को हो भन्दा आमा भन्छन्, मेरो यसमा तर्क फरक हुन्छ । आमा भनेको कोहीसँग तुलना नै हुँदैन । मेरो लागि मेरो बुबा सबैभन्दा ठूलो हो, तर आमाको कुनै तुलना हुँदैन । सूर्यले कति प्रकाश दिन्छ भनेर हामीले तुलना गर्दैनौ नि, त्यस्तै हो आमा पनि ।

आमा र स्वार्थी समाज
हाम्रो समाज स्वार्थीपनमै गइरहेको छ । वर्तमान मात्र हेरिरहेको छ समाजले । वर्तमानमा मलाई के छ र वर्तमानपछि आउने दिनमा मलाई के चाहिन्छ भन्ने कुरामा मानिसहरु बढी फोकस भए । वर्तमानमा ल्याउनलाई कसको के कति योगदान थियो भन्ने कुरा बिर्सिने संस्कार विकास हुँदै गएको छ। पाश्चात्य संस्कारको फलोअर बन्दै गएका छौ । नैतिक शिक्षाका पढाई कम हुँदै जान थालेको छ । 

‘तिमी हौ सबैभन्दा पहिला, तिम्रो इच्छा सबैभन्दा ठूलो कुरा हो’ भन्ने कुरा हामी सन्तानलाई सिकाइरहेका छौ । ‘तिमी तिमी तिमी र फेरि पनि तिमी’ भन्ने शिक्षा दिइरहेको छौ । सन्तानलाई तिमीमा केन्द्रीत गरायौं, यसैको प्रतिफल हो । 

आफू मात्र खुशी हुने, आफू मात्र रमाउने परिवेश तयार हुँदै गएको छ । 

मलाई लाग्दैन कुनै पनि छोराछोरी बाउआमाप्रति घृणित भएर, वृद्धाआश्रममा लगेर छाडेको छ । लगे पनि उहाँहरुको मन रोइरहेको होला, बाध्यात्मक होला । आमाप्रतिको भावना सबैको एउटै हुन्छ जस्तो लाग्छ । खालि अपरेसन मोड मात्र फरक जस्तो लाग्छ । 

अब हामी अपरेसन मोडलाई हेरेर कुनै व्यक्तिलाई आमाप्रतिको उसको धारणा के छ भन्ने कुरालाई जज गर्नु हुँदैन कि जस्तो लाग्छ । आफ्नो परिस्थिति, आफैंले आफैंलाई पनि समय दिन गाह्रो भएको अवस्थामा पनि समय व्यवस्थापन गरेर आमालाई समय दिनुपर्छ। 

मानसिक शान्ति, सन्तुलन बनाउनका लागि सबै सन्तानहरु उत्प्रेरित हुनुपर्छ । सबैलाई यसप्रति उत्प्रेरित होस् भन्ने कुरामा आमालाई सम्झिने दिनमा आफ्ना आमासँग रमाउन आग्रह गर्छु । 

नभएकाले पनि आफ्नी आमाले जीवन सफल पार्न दिनुभएको शिक्षा अंगिकार गर्दै आमाप्रति सद्भाव राख्नुपर्छ ।
(कुराकानीमा आधारित)