काठमाण्डौ । चिटिक्क परेका युवतीहरुले अभिवादन गर्दै मन्द मुस्कानमा स्वागत गर्दा जहाजमा यात्रा गर्नेहरुले मीठो आतिथ्यताको महसुस गर्छन । निकै राम्रो हस्पिटालिटी, यात्रुहरुको सुविधालाई राम्रो ध्यान पुर्याइने गरिएका कारण मात्र होइन, यात्रा अवधिभरि उडान कर्मचारीहरुको शालीन व्यवहारले पनि पछिल्लो समय गाडी छाडेर जहाजको यात्रा गर्नेहरुको संख्या बढेको छ नेपालमा । गाडीका कर्मचारीहरुको रुखो व्यवहारका कारण समेत हवाई यात्राप्रतिको आकर्षण बढ्दो छ । तर के कुनै पनि गाडीमा हवाई कर्मचारीकै जस्तो आतिथ्यता, सत्कार यात्रुप्रति समर्पित गर्न संभव छैन ? पक्कै छ । सार्वजनिक यातायातप्रतिको गुनासो बढेसँगै यसको स्तरीय सेवा र आधुनिकीकरणमा व्यवसायी लागिरहेकै बेला अब लामो रुटकै यात्रुबसमा हवाइजहाजमा झै बस परिचारिका(बस होस्टेज)को व्यवस्था गरिने भएको छ । हवाईजहाज भन्दा राम्रो सेवा र सत्कार दिएर यात्रुहरुको यात्रालाई सुखद बनाउने नौलो कामको थालनी ‘न्यू साप्ताहिक यातायात प्रालि’ले गरेको हो । 

प्रालिका संचालक दिवाकर पौडेलका अनुसार लामो रुटको सार्वजनिक यातायातमा नेपालमै पहिलोपटक ‘बस होस्टेज’लाई परिचालन गरिएको हो । न्यू साप्ताहिक बसको रात्रिकालीन सेवामा काठमाण्डौ–काँकडभिट्टा, काठमाण्डौ–लेटाङ र काठमाण्डौ–धरान रुटमा बस होस्टेजहरुले यात्रुहरुको सुखद यात्राका लागि काम गर्नेछन् । एउटै पोशाकमा सजिएका बस होस्टेजले यात्रुहरुलाई सुखद यात्राका लागि सहयोग गर्ने उनले जानकारी दिए । 

केही समयअघि काठमाण्डौको महानगर यातायातले चक्रपथभित्रका बसहरुमा बस होस्टेजको नौलो प्रयोग सुरु गरेको थियो । तर नेपालको लामो रुट र रात्रिकालीन सेवामा बस होस्टेजलाई परिचालन गरेर सार्वजनिक बसमा स्तरीय सेवा सुरु गर्ने न्यू साप्ताहिक यातायात प्रालि नेपालकै पहिलो कम्पनी बनेको छ । 

संचालक पौडेलका अनुसार न्यू साप्ताहिकका अत्याधुनिक बसमा यात्रा गर्ने प्रत्येक यात्रुका लागि बसभित्रै चाहे जति पानी पिउने व्यवस्था गरिएको छ । यसैगरी, नास्ताको रुपमा बसभित्रै डेनिस नामको बेकरी आइटम र जूस दिइनेछ । यसको शुल्क लाग्नेछैन । गाडी गन्तव्यबाट हिँडेको केही समयमै नास्ताका लागि बीच बाटोमा रोकेर एकघण्टासम्म पर्खिनुपर्ने अवस्थालाई अन्तका लागि निःशुल्क नास्ताको व्यवस्था गाडीमा गरिएको पौडेलले जानकारी दिए । 

बसभित्र चौबीस घण्टै वाइफाइ सेवा, ४२ इञ्चको एलसिडी टिभीबाट मनोरञ्जनात्मक सामाग्रीको व्यवस्था समेत गरिएको छ । न्यू साप्ताहिक बसमा यात्रा गर्ने प्रत्येक यात्रुलाई निःशुल्क रुपमै कान्तिपुरको साप्ताहिक पत्रिका उपलब्ध गराइनेछ । यसैगरी, प्रत्येक दिनको दैनिक पत्रिका पनि यात्रुको माग अनुसार सित्तैमा पढ्ने व्यवस्था मिलाइने समेत पौडेलले जानकारी दिए । 

यात्रुहरुको सेवालाई ध्यानमा राखेर कम्पनीले हालै ५३ मोडेलका करिब ४९ लाख प्रतिगोटा पर्ने सुविधासम्पन्न आधुनिक र लामो बस भित्र्याएको छ । यी बसका सीट नै बिशेष प्रकारले विशेष डिजाइनरले राँचीमा बनाएका हुन्, जुन निकै महंगो र सुविधाजनक रहेको बताइएको छ । यिनै बसमा यात्रुले जहाजको भन्दा स्तरीय सेवा पाउनेछन् । 

हाल बस होस्टेज र अन्य सेवासुविधासहितको व्यवस्था रात्रिकालीन रुटमा चल्ने ६ वटा बसहरुमा मात्र लागू गरिएको पौडेलले जानकारी दिए । यी बस नन–एसीवाला बस हुन् । आउने दशैंअघिसम्म एसीसहितको अझ स्तरीय बस सेवा समेत संचालन गर्ने तयारी थालिएको पौडेलले जानकारी दिए । हाल यो यातायात प्रालिले अन्य रुटमा समेत गरी कुल १० वटा बस संचालन गर्दै आएको छ । 

यात्रुहरुको सुविधालाई ध्यानमा राखेरै न्यू साप्ताहिक यातायात प्रालिले काठमाण्डौ–काकडभिट्टा तथा अन्य रुटको भाडादर अरुको भन्दा केही सस्तो अर्थात, १ हजार १ सय रुपैयाँ मात्र तोकेको छ । अन्य बसहरुमा बार्गेनिङको आधारमा पूर्वको रुटमा यात्रा गर्ने यात्रुहरुसँग प्रति व्यक्ति १ हजार ३ सय रुपैयाँसम्म भाडा असूल्ने गरिएको छ । 

‘हाम्रो चाहना थोरै पैसामा पनि यात्रुले स्तरीय सेवा पाउन् भन्ने हो ।’ पौडेलले भने–‘बसको सेवा पनि जहाजको भन्दा कम हुन्न र स्तरीय सेवा दिन हामी पनि कटिबद्ध छौ भन्ने कुरा हामी पुष्टि गर्नेछौ ।’ 

उनको भनाईमा गाडीमा बस होस्टेजको व्यवस्था गर्दा यात्रुहरुबीच हुने छाडापन कम हुने, यात्रुहरुको सेवा गर्न बस होस्टेजलाई सहज हुन्छ । सोसँगै यात्रुहरुको सामानको सुरक्षा, यात्रुहरुकै सुरक्षामा समेत बस परिचारिकाको भूमिका अहम् हुनेछ । हाल ६ जना बस होस्टेज(परिचारिका)लाई तालिमसहित बसमा परिचालन गरिएको छ । लामो रुट पुगेर आएको भोलिपल्ट बस होस्टेजले विदा पाउने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । 

अन्य यातायात व्यवसायीहरुले न्यू साप्ताहिक यातायात प्रालिले लामो रुटमा सुरु गरेको स्तरीय सेवाले बदनाम सार्वजनिक यातायातको प्रतिष्ठामा सुधार हुने र यसले सार्वजनिक यातायातको परिभाषा नै बदलिदिनसक्ने दाबी गरेका छन् ।