काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा हालसम्मकै सबैभन्दा धेरैजनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५२ जनाको मृत्यु भएको छ। यसमा यसअघि विभिन्न स्थानमा मृत्यु भएकाको संख्या समावेश नगरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। ‘तीसमेत गरी मृतकको संख्या ८८ रहेको छ’, उनले भने। यो एक दिनको हालसम्मकै उच्च संख्या हो। 

पछिल्लो २४ घन्टामा थप ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो।

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ४ हजार १९८ जनामा कोरोना पुष्टि भएका छन् । जसमा काठमाण्डौमा मात्रै ३ हजार १६१ जना, ललितपुरमा ५३३ जना र भक्तपुरमा ५०४ जना छन्। 

पछिल्लो २४ घन्टामा ४ हजार २२ जना संक्रमण मुक्त भएका छन्। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० छन्। तीमध्ये ८१ हजार ४३० जनाको होम आइसोलेसनमा र ६७३० जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।