– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा कारोबार रोक्का भएको कम्पनीको कारोबार हुनु, मर्जरमा गएको एक कम्पनीको कारोबार हुँदै गर्दा अर्कोको नहुनुजस्ता घटना सामान्य बन्दै गएका छन्। 

बजार नियामक नेप्से र सीडीएससीहरु भने यस्ता घटनाको आरोप एक–अर्कालाई लगाएर पन्छिँदै आएका छन्। तर, आमलगानीकर्ता भने आफ्नो सम्पत्ति बन्धक हुँदा मर्कामा पर्दै आएका छन्।

केही दिनअघि नियामक निकाय र क्यापिटलको चरम लापरबाहीका कारण मर्जरपछि हिमालयन एभरेस्ट इन्स्योरेन्सको कारोबार हुँदै गर्दा मर्जरमा गएको एकमात्र कम्पनी अर्थात् हिमालयन इन्स्योरेन्सको मात्र कारोबार भएको थियो। जसका कारण एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ता सेयर कारोबार गर्न वञ्चित भए। 

आज फेरि त्यस्तै घटना पुनः दोहोरिएको छ। तर नियामक निकायहरु भने त्यस्ता घटना आउने दिनहरुमा कसरी न्यूनीकरण गर्ने भन्नेमा केन्द्रित हुनेभन्दा पनि एकअर्कालाई आरोप–प्रत्यारोप लगाउनमा नै व्यस्त छन्।

मर्जरपछि एकीकृत कारोबार सुरु भइसकेको रिडी र रैराङ हाइड्रोपावर नेप्सेमा सूचीकरण भइसकेको छ। एकीकृत कारोबार भएसँगै रिडी पावर कम्पनीको नाममा आजबाट सेयर कारोबार खोल्ने तय भएको थियो। तर आज मर्जरमा गएको एक कम्पनी अर्थात रिडीको मात्र कारोबार खुलेको छ। रिडीको मात्र कारोबार खुल्दा रैराङका लगानीकर्ता भने कारोबार गर्न वञ्चित भएका छन्।

नेप्सेका कर्मचारीहरु सीडीएससीले समयमै सिस्टममा अपडेट नगर्दा एउटामात्र कम्पनीको सेयर कारोबार भएको बताउँदै आएका छन्। उनीहरू एउटामात्र कम्पनीको कारोबार हुनुमा सीडीएससीबाट त्रुटि भएको भन्दै पन्छिए। 

त्यस्तै सीडीएससीका कर्मचारीहरु कम्पनीका साथै क्यापिटलले सेटअपको आवश्यक प्रक्रिया पूरा नगरी नेप्सेले कारोबार खोल्दा त्रुटि भएको भनेर पन्छिने गरेका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता रुपेश केसी यस्तो प्रकृतिका त्रुटिहरु नहोस् भनेर नै बोर्डबाट मर्जर तथा एक्युजिसनसम्बन्धी मस्यौदा तयार गरिएको बताए। ‘हाम्रो तर्फबाट प्रारम्भिक मस्यौदा तयार गरेर सरोकारवालाहरुसँग सल्लाह तथा सुझावका लागि आह्वान गरेका छौँ’, उनले भने, ‘सल्लाह–सुझाव आएपछि उक्त मस्यौदालाई अन्तिम रुप दिन्छौँ।’

सेबोनबाट मर्जर तथा एक्युजिसनको मस्यौदाले अन्तिम रुप पाएपछि यस्ता प्रकृतिका समस्या दीर्घकालीन रुपमा हल हुने केसीको दाबी छ। ‘त्यसैले उक्त मस्यौदा कार्यान्वयनमा आएपछि यस्ता प्रकारको समस्या आउँदैनन्’, उनले भने।