काठमाण्डौ । पद र पैसाका लागि मानिसहरु कतिसम्म गिर्न सक्लान् ? नैतिकता हुनेहरुको उत्तर हुनसक्छ–पद र पैसाका लागि गिरिन्न । तर, जीवनभर कुनै न कुनै सार्वजनिक पदमा बस्ने बानी परेकाहरुले भने यस्तो नैतिकता बिर्सिने रहेछन् । प्रसङ्ग हो पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी अभ्यास नै नगरेका, दलको राजनीतिमा खास योगदान पनि नभएका डा. खतिवडालाई मौद्रिक अर्थशास्त्री भएकै कारण उपहारस्वरुप एकैपटक अर्थमन्त्रीको रुपमा नियुक्त गरिदिए । कसैले सोच्दै नसोचेका पात्र डा. खतिवडा अर्थमन्त्रीको रुपमा आएपछि पार्टीभित्रबाट धेरै विरोध भयो, तर ओलीले सुनेनन्, बरु आफ्ना विज्ञ अर्थमन्त्रीको कुरा सुन्दै सरकारलाई अगाडि बढाउने काम गरे । 

अर्थमन्त्रीमा टिकाइराख्न खतिवडालाई राष्ट्रियसभा सदस्य बनाइयो । उनी आफैंले २ वर्षे कार्यकालको चिठ्ठा ताने र २ वर्षसम्म अर्थमन्त्रीको रुपमा काम गरे । ओलीको प्रिय भएकै कारण २ वर्षपछि पनि थप ६ महिना उनलाई अर्थमन्त्रीकै रुपमा पुननिर्युक्ति गरियो । पछिल्लो ६ महिना पूरा भएपछि पनि ओलीले डा. खतिवडालाई नै राष्ट्रियसभा सदस्य बनाएर अर्थमन्त्रीको रुपमा निरन्तरता दिन चाहेका थिए । तर, सिंगो पार्टी पंक्ति पार्टी उपाध्यक्ष बामदेव गौतमको पक्षमा उभिएपछि आफ्ना प्रिय पात्रलाई अर्थमन्त्री बनाउने ओली सपना तुहियो । 

अर्थतन्त्रलाई डामाडोल बनाएर विदा भएका डा. खतिवडाले फेरि पनि पदका लागि अनुनयविनय गरिरहे । ओलीलाई समेत प्रिय लागेका कारण अर्थमन्त्रीबाट राजीनामा दिए पनि डा. खतिवडालाई मन्त्रीपरिषदका सदस्यहरुलाई थाहै नदिई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिदिए ।

आर्थिक सल्लाहकारको रुपमा लालशंकर घिमिरे हुँदा हुँदै खतिवडालाई ‘विशेष’ शब्दको फूर्को जोेडेर आर्थिक सल्लाहकारमा ल्याएपछि बालुवाटारमै पनि द्वन्द्व सुरु भइसकेको थियो । पछिल्लो समय रिक्त अर्थमन्त्रीको जिम्मेवारी समेत ओली आफैंले लिएर विशेष आर्थिक सल्लाहकार डा. खतिवडाको सल्लाहअनुसार अर्थमन्त्रालय चलाइरहेका छन् । अर्थमन्त्रालयको संचालनको सबै मोड्यूल, सल्लाह तथा अन्तिम निर्णय डा. खतिवडाकै हुने र ओलीले अर्थमन्त्रीको हैसियतमा हस्ताक्षर मात्र गर्ने काम गरे । 

मन्त्री सोसरहको सुविधा तथा हैसियतमा डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएर एक सांसदलाई अर्थ राज्यमन्त्री बनाउने र अर्थमन्त्रालय आफैंसँग राखी ‘घोस्ट अर्थमन्त्री’को रुपमा खतिवडालाई अगाडि सार्ने ओलीको अभ्यास सुरु भइसकेको थियो । तर, अर्थमन्त्री भइसकेका खतिवडाले त्यही रवाफले विशेष आर्थिक सल्लाहकारमा रहेर काम गर्न सकेनन् । 

पदलोलुप खतिवडाको चाहना पहिलादेखि नै अमेरिकाका लागि नेपाली राजदूत हुने थियो । उनले आफ्ना निकटस्थहरुसँग अर्थमन्त्रीको २ वर्षे कार्यकाल पूरा हुँदै गर्दा यो चाहना व्यक्त गरेका थिए । तर, ओलीले थप ६ महिनाका लागि पुनः अर्थमन्त्री बनाएपछि त्यो चाहना केही समय सुषुप्त बन्यो । 

पछिल्लो समय विशेष आर्थिक सल्लाहकारको रुपमा रहे पनि खतिवडा सन्तुष्ट थिएनन् । त्यसपछि उनले प्रधानमन्त्री ओलीलाई कन्भिन्सको प्रयास गरेका थिए । अर्थमन्त्रालय समेत राम्रो चलाउन नसकेको दोष खेपेका डा. खतिवडाले आर्थिक सल्लाहकारको पदमा बसेर अर्थतन्त्रमा कुनै चमात्कार गर्नसक्ने संभावना समेत थिएन । यो कुरा स्वयम् डा. खतिवडाले पनि महसुस गरेको हुनुपर्छ । 

खतिवडाको पटक पटकको अनुनयपछि गत साता मात्रै केपी शर्मा ओली उनलाई अमेरिकाका लागि राजदूत बनाउन तयार भएका बालुवाटारस्थित स्रोतले दाबी गरेको छ । यो निर्णयसँगै ओलीको प्रिय पात्र खतिवडा अमेरिकाका लागि राजदूत हुनेछन् भने खतिवडाकै कारण लामो समयसम्म रिक्त हुने देखिएको अर्थमन्त्रालयले फूल मन्त्री पाउनेछ ।

आर्थिक सल्लाहकारमा नियुक्त भएको दुई हप्तापछि नै खतिवडालाई नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो । विभिन्न सरकारका पालामा डा. खतिवडाले उच्च पदमा नियुक्तिहरु पाउँदै आएका छन् । अमेरिकाका लागि राजदूतमा उनी नियुक्त भए भने यो नियुक्ति उनको आठौं उच्च पदको नियुक्ति हुनेछ । 

केही स्रोतहरुले भने खतिवडालाई योजनाबद्ध ढंगले एमसिसीको हेडक्वार्टर मानिएको अमेरिकाका लागि राजदूत नियुक्त गरिएको बताएका छन् । डा. खतिवडा मन्त्री हुँदा समेत निरन्तर एमसीसी पास गराउनुपर्ने लविङमा थिए । 

पद लोलुपताको यो हद !
युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत बनाउने मन्त्रीपरिषद बैठकले सिफारिस गरेको छ । संघीय सरकारको शक्तिशाली मन्त्री भइसकेका खतिवडा त्योभन्दा ५ तहले मुनिको बरियतामा सीमित भई राजदूत बन्न तयार हुनुले उनको पदलोलुपता प्रष्ट्याउँछ । 

सरकारको मर्यादाक्रममा संघीय सरकारका मन्त्रीहरु सातौं नम्बरमा छन् । यस्तै, विभिन्न देशका लागि नियुक्त हुने नेपाली राजदूतको बरियता भने १२ औं नम्बरको हो । १२ औं नम्बरको बरियतामा नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक(राअवि), सर्वोच्च अदालतका रजिस्ट्रार, नायव महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुख रहन्छन् । 

यसरी हेर्दा संघीय सरकारको मन्त्री भइसकेका खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्न तयार भएर काठमाण्डौ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी(श्रेष्ठ)कै हैसियतमा सीमित बन्न पुगेका छन् । अझ अर्को भाषामा भन्दा काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यको भन्दा अब खतिवडाको बरियता एकतह तल हुनेछ । महानगरका प्रमुख(मेयर)को बरियता १० औं नम्बरको हो । 
(अबको अर्थमन्त्री को ? अर्को स्टोरीमा)