काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ छाडेर केपी शर्मा ओलीको क्याम्पमा बसाई सरेका ७ मन्त्रीले पद खुस्किए पनि सरकारी निवास र सुविधाको सवारी साधन छाडेका छैनन् ।
सर्वोच्च अदालतको एउटा आदेशबाट पूर्व माओवादीका नेताहरु रामबहादुर थापा बादल, प्रभू शाह लगायत ७ जनाको मन्त्री पद खुस्किएको थियो ।
मन्त्री पद खुस्किए पनि उनीहरुले मन्त्री क्वार्टर अझै छाडेका छैनन् । त्यति मात्र होइन, उनीहरुले मन्त्रीको हैसियतमा प्रयोग गरिरहेका गाडी समेत सरकारलाई फिर्ता गरेका छैनन् ।
गत बिहीबार सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात गैरसांसद मन्त्रीको पद नरहने अन्तरिम आदेश दिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सात मन्त्रीको पद जाने अन्तरिम आदेश दिएको थियो । “संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था रहेको देखिन्छ,” सर्वोच्चको अन्तरिम आदेशमा भनिएको थियो, “उल्लेखित व्यवस्था हेर्दा धारा ७८(१) बमोजिम नियुक्त मन्त्रीले शपथ खाएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता लिनुपर्ने अवस्था देखिँदा निज प्रत्यर्थीहरुलाई पुनः दोस्रोपटक नियुक्ति गरिएको कार्य संविधानको धारा ७८ को उपधारा १.२.३ को व्यवस्था, संविधानको मूलमर्म र भावनाको विपरीत भएको देखिँदा यो निवेदनको अन्तिम टुंगो नलागेसम्म यसरी प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ति गरिएको र शपथग्रहणलगायतका कार्यहरु संविधानअनुकूल नरहेकोले मन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नू, गर्न नदिनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।”
यो आदेशसँगै सातै मन्त्रीहरु पदमुक्त भएका थिए ।
तर, पदमुक्त भएपछि पनि उनीहरुले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छैनन् ।
एक मन्त्रीको सहयोगीका अनुसार सातै मन्त्रीले प्रयोग गरिरहेको सरकारी गाडी समेत फिर्ता गरिएको छैन । अरु त अरु सरकारी स्रोतबाटै सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समेत फिर्ता गरिएको छैन ।
ती सहयोगीका अनुसार सर्वोच्चको आदेश अन्तरिम रहेकोले तत्काल पद गए पनि फेरि मन्त्रीमा नियुक्ति पाउने आशामा पद खुस्किएर पनि सातैजनाले मन्त्री क्वार्टर नछाडेका हुन् ।
यसरी मन्त्री पद खुस्किँदा पनि सरकारी सेवासुविधाको दोहन गर्ने अन्यमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा रहेका छन् ।
1 minute ago
7 minutes ago
18 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago