काठमाण्डौ । संसारका भ्रष्ट शासक, पूर्व शासक, नेता, व्यापारीहरुले अकूत सम्पत्ति आर्जन गरी ट्याक्स हेभन(कर तिर्नु नपर्ने ठाउँ)मा जम्मा गरेको सनसनीपूर्ण खुलासा गरेको र विश्वमा हालसम्मकै ठूलो भ्रष्टाचारको खुलासाको रुपमा टिप्पणी गरिएको पानमा(प्यानमा) पेपर्स लिक्स बारेमा नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अध्ययन र छानबिन गर्ने भएको छ । 

अख्तियारको प्रवक्ता कृष्णहरि पुस्करले मंगलबार २ वटा ट्वीट गर्दै पानमा पेपर्स लिक्सको बारेमा अध्ययन गर्ने र त्यहाँ समावेश गरिएको भनिएका ७ वटा नेपाली नाम, उनीहरुको सम्पत्तिको स्रोत र ट्याक्स हेभनसम्म उनीहरुको कनेक्सनको विषयमा छानबिन थाल्ने स्पष्ट संकेत गरेका छन् । 'अहिलेसम्म स्पष्ट त भइसकेको छैन, तर यो ठूलो भ्रष्टाचार र त्यससँग सम्बन्धित पानमा पेपर्ससँग हाम्रो सन्दर्भ कुनै न कुनै रुपले जोडिनसक्छ ।' प्रवक्ता पुस्करले भनेका छन्-'सोही कारण अख्तियारले आवश्यक प्रयासहरु सुरु गरेको छ र पनामा पेपर्सकोको इस्यूको विषयमा छानबिन गर्नुपर्ने देखिएको छ ।' 

पनामा पेपर्स लिक्समा संसारका चर्चित शासक, प्रशासकदेखि प्रभावशाली नेता, चर्चित सेलिब्रेटी, खेलाडी, व्यापारी तथा व्यवसायीले अकूत सम्पत्ति आर्जन गरी ट्याक्स हेभनमा लुकाएका सनसनीपूर्ण खुलासा गरेको थियो  ।

संसारमा हुने गरेको भ्रष्टाचार तथा कर छलीको हालसम्मकै सबैभन्दा ठूलो भनिएको सो खुलासामा १२ देशका १ सय ४२ नेता, तिनका परिवार र नजिकका नातेदारले ट्याक्स ह्याभेनमा सम्पत्ति जम्मा गर्ने गरेको सप्रमाण बाहिर आएको छ । सो पेपर्स लिक्समा नेपालका समेत ७ जनाको नाम मुछिएको बताइए पनि उनीहरुको को को हुन् भन्ने हालसम्म सार्वजनिक भइसकेको छैन । अख्तियारले तिनै नाम तथा सो लिक्समा नेपालको सम्बन्धको विषयमा छानबिन गर्न लागेको बुझिएको छ । 

पानामास्थित एउटा वकिलको कार्यालय मोसाक फोन्सेकाले गोप्य रुपमा विभिन्न प्रभावशाली व्यक्तिहरुको कर छलीका लागि काम गरिरहेको पेपर्स लिक्सले खुलासा गरेको थियो । यो खुलासाका लागि ८० देशका पत्रकारले प्रत्यक्ष सहभागी भई १ करोड १५ लाख कागजातको अनुसन्धान गरेका थिए । 

यो खुलासासँगै विश्वमै शक्तिशाली मानिएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, इराकका पूर्व उपराष्ट्रपति अयाद अलावी, युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को, इजिप्टका पूर्व राष्ट्रपति हुस्नी मुबारकका छोरा अला मुबारक मुछिएका छन् । पेपर्स लिक्सको खुलासासँगै आइसल्याण्डका प्रधानमन्त्री सिग्मण्डर डेभिड गुनलाग्सनले राजीनामा दिइसकेका छन् । अन्य कयौं देशमा यसले तहल्का मच्चाइदिएको छ । भारतका केही चर्चित व्यापारी र चर्चित अभिनेता अमिताभ बच्चनको नाम समेत सार्वजनिक भएपछि त्यहाँ समेत यसको खूबै चर्चा छ । चीन, बेलायत, उत्तरकोरिया, इरान, रुस, सिरियाली, जिम्बाबे लगायतका देशहरुका नेता, प्रशासक र व्यापारीहरुको समेत यो खुलासामा नाम उल्लेख छ । अनुसन्धानकर्ताहरुले अबैध रकमको विषयमा गम्भीर खुलासा गरेपछि यो विषयमा अस्ट्रेलिया, स्वीडेन, ब्रजिल, अस्ट्रिया र फ्रान्सका अधिकारीहरुले आफ्नो देशसँग जोडिएको विषयमा अनुसन्धान गर्ने बताइसकेका छन् । 

विकसित र शक्तिशाली देशहरुले पनामा पेपर्स लिक्सको बिषयमा छानबिन गर्ने बताइरहँदा नेपालको भ्रष्टाचार निवारणका लागि क्रियाशील संस्थाका प्रवक्ताले छानबिन हुने संकेत गर्नुले नेपालमा विश्वकै ठूलो लिक्सलाई फेरि एकपटक ताजा बहसको बिषय बनाइदिने निश्चित भएको छ ।