काठमाण्डौ । बंगलादेशको सीटीओ फोरम र भारतको इन्फोकम इण्डियाले बंगलादेशमा आयोजना गरेको टेक समिट २०१६ मा नेपालका प्रमोदकुमार परमार ‘आइसिटी एक्सिलेन्स अवार्ड २०१६’ बाट पुरस्कृत भएका छन् । 
 

सूचना तथा सञ्चार प्रविधि(आईसीटी) बिज्ञलाई उनीहरुले  गरेको योगदानको आधारमा सो अवार्ड प्रदान गरिन्छ । सूचना तथा सञ्चार प्रविधिमा उनीहरुले गरेको योगदानका कारण मूल्य र ग्राहक सेवामा समेत केही नयाँ कार्यको थालनी भएको मानिन्छ । 
 

बंगलादेशको ढाकामा गत मार्च ११ र १२ मा सम्पन्न टेक समिटमा सो अवार्ड प्रदान गरिएको हो । यो वर्ष भारत, बंगलादेश, श्रीलंका, भुटान र नेपालका सूचना प्रविधिमा संलग्न एक/एक जना व्यक्तिलाई सो अवार्ड प्रदान गरिएको थियो । 
 

परमारले मोबाइल मनी र मोबाइल बैंकिङका विषयमा सन् २००९ देखि नै विभिन्न देशमा संचालित सेमिनारमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । परमार हाल नेपाल टेलिकमको ब्याकबोन प्रसारण निर्देशनालयको निर्देशक छन् । नेपाल टेलिकमका विभिन्न विभागमा रहेर उनले लामो समयदेखि कार्य गरिरहेका छन् । 
 

परमारले सन् २००९ मा नयाँ दिल्ली, सन् २०१० मा हङकङ एवम् सन् २०११ मा युएईमा मोबाइल मनीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सन् २०११ मा श्रीलंकामा उनले मोबाइल बैंकिङका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।