काठमाण्डौ । नेपाल राष्ट्र बैंकले परियोजना धितोमा ५ करोड रुपैयाँसम्मको कर्जाका लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान रहेको जनाएको छ। 

राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। नवप्रवर्तन (स्टार्टअप) तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन र यस्तो प्रयोजनका लागि कर्जा प्रवाह सहज हो भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

‘यसका लागि व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा (अन्य सम्पत्ति धितो नलिई) मात्र प्रवाह भएको ५ करोड रुपैयाँसम्मको कर्जाका लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखिएको छ’, राष्ट्र बैंकले भनेको छ। 

बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम–व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिमलगायतका विषयको विस्तृत मूल्यांकन गरी कर्जासम्बन्धी निर्णय गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।