काठमाण्डौ । नेप्से परिसूचक आज मंगलबार पनि दोहोरो अंकले बढेको छ। कारोबार रकमसमेत बढेर सवा १ अर्ब रुपैयाँ भएको छ। 

आज नेप्से परिसूचक १२.४७ अंकले बढेर १५८२.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेर ३१३.२९ को उचाइमा पुगेको छ। 

अब बेचेको सेयरको भुक्तानी नपाइने भएकाले समेत सेयरको आपूर्ति कम भएको र सेयरको माग उच्च रहेका कारण परिसूचकमा सकारात्मक प्रभाव परेको विश्लेषकहरुको भनाइ छ। दसैँ पर्वको छुट्टी हुने समय नजिकिएसँगै सेयर खरिदबापतको रकम दसैँपछि मात्र तिर्नुपर्ने भएकाले समेत अधिकांश कम्पनीको सेयरमूल्यमा बढोत्तरी आएको उनीहरु बताउँछन्। 

आज परिसूचकसँगै सबै समूहमा हरियाली छाएको छ।

यो दिन सबैभन्दा बढी जीवन बीमा समूहमा ७३.२५ अंकका बढोत्तरी भएको छ। निर्जीवन बीमा समूहमा ५३.३५ अंकको बढोत्तरी आएको आज बैंकिङ समूह ७.३५ अंक, व्यापार समूह ५.०७ अंक, होटेल्स् समूह १५.८५ अंक, विकास बैंक समूह १९.८२ अंक, जलविद्युत् समूह २६.७९ अंक, वित्त समूह ३.८२ अंक, उत्पादन तथा प्रशोधन समूह २४.२६ अंक, अन्य समूह ११.०५ अंक, लघुवित्त समूह १५.४१ अंक र म्युचुअल फन्ड समूह ०.११ अंकले उकालो लागेका छन्। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ४९ लाख १३ हजार ४९७ कित्ता सेयर १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७०७ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन अरुण काबेली पावरको सर्वाधिक ८ कराड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

आज अपी पावरको ७ करोड ६५ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ५ करोड ९९ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ९९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ७१ लाख रुपैयाँ, कुमारी बैंकको २ करोड ५९ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ३४ लाख रुपैयाँ, नेसनल हाइड्रोको २ करोड ३१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन जनरल इन्स्योरेन्स, माउन्टे हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।

आज नेपाल फाइनान्सको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।