काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिएर परिस्थिति बिग्रिदै गयो भने लकडाउन हुनसक्ने प्रष्ट पारेका छन् । 

देशबासीको नाममा सम्बोधन गर्दै प्रम ओलीले जनस्वास्थ्यका मापदण्ड पालना नहुने र लापरबाही बढ्दै जाने हो भने अवस्था बिग्रिनसक्ने र महामारीले भयावह रुप लियो भने लकडाउनमा जानुपर्ने हुनसक्ने प्रष्ट पारेका हुन् । 

'जनस्वास्थ्यका मापदण्ड पालना गरौं, आफू सुरक्षित बनौं, अरुलाई पनि सुरक्षित राख्न सहयोग गरौं । यसो भयो भने जनजीवन पनि सुचारु हुन्छ ।' ओलीले भने-'कतिपयले यही बीचमा आजभोलिदेखि नै लकडाउन लाग्छ भनेर हल्ला चलाएका छन् । सरकार सकेसम्म लकडाउनमा जान चाहदैन ।' 

तर, ओलीले अवस्था बिग्रिदै जाँदा यूरोपका विकसित देशहरु समेत लकडाउनमा जान बाध्य भएका बताए । 'यूरोपका विकसित भनिएका देशहरुमा जब महामारी ह्वात्तै फैलियो, लकडाउन गर्न बाध्य भएका छन् । त्यसो हुँदा लकडाउनको साहारा लिनुपर्ने अवस्था छ ।' उनले थपे-'सतर्कताको विधिबाट परिस्थितिलाई बिग्रन नदिऔं, अवस्था बिग्रिए यहाँ पनि लकडाउन हुनसक्छ । भरसक त्यस्तो अवस्था आउन दिनुहुन्न ।'