काठमाण्डौ । नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले  यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ। 

नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो। नेपाली नयाँ वर्षको पुर्व सन्धयामा आयोजना गरिएको उक्त कार्यक्रमको सोमबार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले फल्याग अफ गरी शुभारम्भ गरे। पोकर रन काठमाण्डौबाट पोखरासम्म हुनेछ।

कार्यक्रममा डा. रेग्मीले कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनुपर्ने बताए। उनले यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुकासाथै आन्तरिक पर्यटन चलायमान हुने बताए। “कोभिडको कारण अहिलेको परिस्थतीमा अन्तरराष्ट्रिय पर्यटक आगमन कम हुने हुँदा हामीले कुनै न कुनै रुपमा यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन आवश्यक छ,” उनले भने। 

वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे काजीले पोकर रनजस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले कोभिडका कारण थलिएको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने बताए। 

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमा समेत विकास हुदै गइरहकेको सन्र्दभमा पोकर रनले पर्यटनको नयाँ प्रडक्ट विकास गरेको जानकार दिए। थापाका अनुसार अघिल्ला वर्षमा विदेशबाट पनि यात्रुहरु सहभागी भएपनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १५० जनालाई मात्र सहभागी गराइएको छ। पोकर रनमा गत वर्ष ४०० जनासम्म सहभागी भएको थापाले जानकारी दिए। 

यात्रुहरू सोमबार बिहान काठमाण्डौबाट पोखराका लागि प्रस्थान गरेका छन। साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम गरी दुई दिनपछि काठमाण्डौं फर्किन आयोजकले जानकारी दिएको छ।