काठमाण्डौ। कोरोना महामारीका कारण विश्वभरको पर्यटन क्षेत्रमा पुगेको क्षतिले यो वर्ष विश्वभरको अर्थतन्त्रमा २.४ ट्रिलियन डलर घाटा हुन सक्ने देखिएको छ। भ्याक्सिनको असमान वितरणका कारण बाहिरी पर्यटकमा धेरै नै निर्भर रहने विकासशील देश यसबाट धेरै प्रभावित हुने अध्ययनले देखाएको छ। 

‘युनाइटेड नेशन्स कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट(यूएनसीटीएडी)ले बुधबार प्रकाशित गरेको रिपोर्टमा कोरोनाको विरुद्धको भ्याक्सिनमा पहुँच बढेपनि पर्यटन क्षेत्रमा कोरोना महामारीको प्रभाव १२ महिनाअघि अनुमान गरिएको भन्दा पनि भयावह हुने जनाइएको छ। 

उक्त रिपार्टमा भ्याक्सिनको वितरणमा देखिएको असमानता विश्व अर्थतन्त्रका लागि कति महंगो पर्न सक्छ भन्ने बारेमा उल्लेख गरिएको छ। जर्मनी, फ्रान्स, बेलायात र अमेरिका जस्ता देशहरुको पयर्टन क्षेत्रमा पुनरागमन हुने प्रक्ष्येपणका बाबजुत भ्याक्सिनको असमान वितरणका कारण यो वर्ष मात्रै विश्व अर्थतन्त्रले १.७ ट्रिलियन देखि २.४ ट्रिलियन अमेरिकी डलरसम्म गुमाउन सक्ने अनुमान गरिएको छ। 

जसका कारण यो वर्ष विकाशील देशहरुले विश्वको जीडीपीको घाटाको ६० प्रतिशत हिस्सा अर्थात १.४ ट्रिलियन घाटा व्यहोर्ने अनुमान गरिएको छ। 

यो रिपार्ट यूएन वल्र्ड टुरिजम अर्गनाइजेशन(युएनडब्लुटीओ) संगको सहकार्यमा तयार पारिएको हो। 

सन् २०२० र २०२१ मा कोरोना महामारीले विश्व पर्यटन क्षेत्रमा ४.८ ट्रिलियन डलरको घाटा पुर्याउने र यसमा गरिक देशहरुको घाटा २.९ ट्रिलियन डलर हुने अनुमान गरिएको छ। 

यो विश्लेषण पर्यटन क्षेत्रलाई खाद्यान्न, पेय पर्दाथ, आवास र यातायात सेवा आपूर्ति गर्ने उद्योग कलकारखानाहरुमा परेको घाटाहरुको आधार गरिएको हो। यद्यपी यसमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ल्याइएका राहात प्याकेजहरुलाई भने समेटिएको छैन। 

‘कोरोना महामारीको सबैभन्दा धेरै प्रभाव विकाशील देशहरुको पर्यटन क्षेत्रमा परेको छ। यी देशहरुमा सन् २०२० मा पर्यटन आगमनमा ६० देखि ८० प्रतिशतले कमी आएको छ। ’ यूएनसीटीइडीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। 

विश्वका केहि भागमा लकडाउन र निषेधाज्ञाहरु हटेर पर्यटकहरुको चहलपहल बढ्न थालेपनि विश्व पर्यटन क्षेत्रको संकट सामान्य अवस्थाभन्दा निकै टाढा रहेको छ। युएनडब्लुटीओले अन्र्तवार्ता लिएका आधि भन्दा बढी विज्ञहरुले विश्वको पर्यटन क्षेत्र कोरोना अघिको अवस्थामा फर्कन सन् २०२४ वा त्यो भन्दा पनि बढी समय लाग्न सक्ने बताएका छन्। 

‘आवर वल्र्ड इन डेटा’का अनुसार यतिबेला विश्वका १० प्रतिशत जनसंख्याले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन्। 

भ्याक्सिनको दर धेरै भएका बेलायतजस्ता देशरुमा समेत डेल्टा भेरियन्टको बढ्दो केसहरुका कारण यात्रामा प्रतिबन्धहरु कायमै रहेका छन्। भ्याक्सिनको दर कम भएका अर्थात गरीब देशहरुको अवस्था भने निकै भयावह रहेको छ। 

भ्याक्सिनको दर कम भएका गरीब देशहरुमा यो वर्ष पर्यटकहरुको आगमन ७५ प्रतिशतले घट्ने यूएनसीटीएडीले प्रक्ष्येपण गरेको छ। ५० प्रतिशत भन्दा बढी जनसंख्यालाई भ्याक्सिन लगाइएका देशहरुमा भने यो वर्ष पर्यटकहरुको आगमनमा ३७ प्रतिशतको गिरावट आउने अनुमान गरिएको छ। 

टर्की, इक्वेडर, र दक्षिण अफ्रिका, माल्दीभ्स् र सेन्ट लुसीया जस्ता देशको पर्यटन क्षेत्र यो महामारीबाट सबैभन्दा धेरै प्रभावित हुने बताइएको छ। यस्तै एशिया र ओसियानाका धेरै जसो देशहरु समेत यसबाट प्रभावित बनेका छन्। उत्तर अमेरिका, पश्चिम युरोप र क्यारेबिन क्षेत्रको पर्यटन उद्योग भने कोरोना महामारीबाट अन्य क्षेत्रको तुलनामा कम प्रभावित बनेका छन्। 

पर्यटन क्षेत्रमा परेको यो संकटका कारण विश्वभरको बेरोजगार दर ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। यसका साथै पर्यटन क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएका १०० मिलियन देखि १२० मिलियन कामहरु जोखिममा रहेको र यसमा धेरै जसो युवा, महिला र अनौपचारिक कामदारहरु रहेका छन्। 

विश्व पर्यटन क्षेत्रको पुनरागमनका लागि सबैभन्दा ठूलो बाधकका रुपमा असमान खोप वितरण तथा भ्याक्सिन लगाएका जनसंख्या न्युन हुनु कारक रहेको रिपोर्टमा उल्लेख गरिएको छ।